गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यविशेष अदालतद्वारा घूससहित पक्राउ परेका सुब्बा भ्रष्टाचारी ठहर

विशेष अदालतद्वारा घूससहित पक्राउ परेका सुब्बा भ्रष्टाचारी ठहर

March 13, 2016३५८ पटक

कृष्ण ज्ञवाली
फाल्गुन ३० गते । विशेष अदालतले घूस लिँदालिँदै गत वर्ष पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीसहित भन्सार एजेन्ट देवराज भट्टराईलाई दोषी ठहर गरेको छ । अदालतले कार्कीलाई १० लाख रुपैयाँ जरिवानासहित २ वर्ष कैद र भट्टराईलाई २२ लाख ४० हजार रुपैयाँ जरिवानासहित २ वर्ष ६ महिना कैदको फैसला गरेको हो ।
२१ लाख ४० हजार रुपैयाँ घूससहित पक्राउ परेका कार्कीले लुकाएर राखेको अवस्थामा थप ५१ लाख रुपैयाँ पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा भन्सारकै कर्मचारी सुरेश थपलियाको घरबाट बरामद भएको ५१ लाखमध्ये ४२ लाख रुपैयाँ राज्यकोषमा जफत गर्न पनि अदालतले आदेश दिएको छ । प्रतिवादी बनाइएका भन्सारका उपसचिव सुदिपचन्द्र शाहले भने सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू भूपेन्द्र राई, पवनकुमार शर्मा र महेशप्रसाद पुडासैनी इजलासको फैसलामा नासु कार्कीको बयानका बाबजुद भन्सारका निमित्त प्रमुख शाहमाथिको अभियोग प्रमाणित हुन नसकेको उल्लेख छ । अख्तियार र विशेष अदालतको बयानका क्रममा कार्कीले शाहको आदेशमा आफूले रकम लिएको बताएका थिए ।

विशेष अदालतले थपलियाको घरबाट बरामद भएकोमध्ये ९ लाख २ हजार रुपैयाँ नासु कार्कीको जायज रकम भएको ठहरेको छ । बाँकी १ लाख ४९ हजार रुपैयाँ भन्सार एजेन्ट प्रेमकुमार अधिकारीले पाउने फैसला गरेको छ । ‘कुनै पनि पक्षले दाबी नगरेका कारण ४२ लाख रुपैयाँ राजस्व जफत गरिदिनु’ फैसलामा उल्लेख छ ।

घटना के हो ?
२०७१ असोजपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख किशोरजंग कार्की सरुवा भए पनि कार्यालय प्रमुखको पद रिक्त थियो । निमित्त प्रमुखको जिम्मेवारी पाएका उपसचिव सुदिपचन्द्र शाहले एक महिनाको अवधिमा करिब ३० वटा मुद्दाका आरोपीलाई शंकास्पद ढंगले सामान्य तारेखमा छाडेका थिए ।
त्यसक्रममा पक्राउ परेकामध्येका एक अभिषेक सरकारका बाबुले पनि छोराको रिहाइका लागि पहल गर्न थाले । करिब ३ महिनाअघि ७ सय ८९ ग्राम सुनसहित पक्राउ परेका सरकारको रिहाइको कुरा गर्नासाथ भन्सार नासु हरिवंश कार्की, उनकी श्रीमती लक्ष्मी लम्साल कार्की सहितलाई अख्तियारको टोलीले ७२ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो । Special_court
अवैध सुन निकासीपैठारी मुद्दामा विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेका छोराको रिहाइका लागि पुग्दा अभिषेक सरकारका बाबुलाई निमित्त प्रमुख शाहले मुद्दा फाँट प्रमुख हरिवंश कार्कीलाई भेट्न र उनले ‘भनेअनुसार गर्न’ सुझाव दिएका थिए । मुद्दाका नासु कार्कीले भन्सार एजेन्टहरू देवराज भट्टराईको मध्यस्थतामा लेनदेन गरेका थिए ।
घटनामा २० लाख घूस र एजेन्टका लागि २ लाख ४० हजार रुपैयाँ अख्तियारले मुचुल्का प्रमाणित गरेर नै पठाएको थियो । तर केरकारका क्रममा नासु कार्कीकी पत्नी लक्ष्मी लम्साल कार्कीले साथमा भएको अतिरिक्त ५० लाख रुपैयाँको मुठो रातो झोलामा हालेर श्रीमानका साथी एवं सहकर्मी नासु सुरेश थपलियाको घरमा लुकाएकी थिइन् । थपलियाको घरमा खानतलासी लिँदा ५० लाख ९७ हजार रुपैयाँ बरामद भएको थियो । उक्त प्रकरणमा कुल ७२ लाख रुपैयाँ भेटिएको हो ।

विशेष अदालतले बरामद कुल रकममध्ये प्रमाणका आधारमा ९ लाख २ हजार रुपैयाँ घूस भन्न नमिल्ने र त्यो रकम हरिवंशले पाउने फैसला गरेको छ । बाँकी एक लाख ४९ हजारमा भन्सार एजेन्ट अधिकारीको हक पुग्ने फैसला भएको छ । कसैको दाबी नपरेको र ठूलो परिमाणमा बरामद भएको ४२ लाख रुपैयाँ राजस्वमा दाखिला हुनुपर्ने ठहर भएको हो ।

सुन तस्करीको पाटो
पछिल्लो समय त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहेका छन् । सुन तस्करीको मुद्दामा मुछिएका आरोपितमाथि सुनुवाइका लागि तत्काल पेसी तोक्ने र त्यसपछि निर्णय गर्ने लगायतका सम्पूर्ण अधिकारको प्रयोग भन्सार प्रमुखले गर्छन् । त्यतिबेला अर्थ मन्त्रालयले नै सहसचिव सरहको प्रमुखको सरुवा गरी अरू नपठाउँदा उपसचिव स्तरका निमित्त प्रमुख रहेका बेला सुन तस्करीका आरोपितहरूलाई सामान्य धरौटीमा छाड्ने क्रम बढेको थियो ।

प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा २ सय ८३ किलो सुन तस्करी भएको छ । चीनबाट भन्सार छलेर ल्याइने सुन नेपाली बजारमा बेच्दा प्रतिकिलो ५ लाख २० हजार रुपैयाँ फाइदा हुन्छ । भारतीय बजारमा झन् महँगो हुने भएकाले पछिल्लो समय तस्करीमा भारतीय नागरिकहरू सक्रिय छन् । बरामद भएको सुन जफत हुने भएकाले पक्राउ परेका व्यक्तिको रिहाइका लागि तस्करहरूले फाइदाको तुलनामा ठूलो रकम खर्चने गर्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण