गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यपाकुल्लीका घरमा बस्दा के गरे ह्यारीले , स्थानियले भने , राजा पैदल कसरी हिँड्ने रहेछन् भनेर आएका हौं’,

पाकुल्लीका घरमा बस्दा के गरे ह्यारीले , स्थानियले भने , राजा पैदल कसरी हिँड्ने रहेछन् भनेर आएका हौं’,

March 22, 2016२१७ पटक

फोटो :बेलायतका राजकुमार ह्यारी सोमबार लमजुङ गैडा गाविसको लेउरानी गाउँमा मंगली तामाङको परिवारसँग रातिको खाना खाँदै । तस्बिरः रासस

२०७२ चैत्र ९ गौंडा (लमजुङ)= गाउँमा कहिल्यै उच्च ओहोदाका व्यक्ति नदेखेकी पूर्वी लमजुङको विकट गाउँ गौंडा ४ भिरकुनाकी ८६ वर्षीया पाकुल्ली गुरुङ सोमबार निकै खुसी देखिइन् । उनलाई भेट्न बेलायती राजकुमार ह्यारी घरमै आउँदैछन् भन्ने सुनेकी उनी दिनभरि कुरेर बसिरहिन् ।
गाउँमा बेलायती राजकुमारको आगमनले उनी मात्रै होइन, सबै गाउँले हौसिए । उनको स्वागतका लागि बालकदेखि वृद्धसम्म स्थानीय गुरुङ र तामाङ भेषभूषामा सजिएर हातमा राष्ट्रिय फूल गुराँससँगै खादा लिएर बसेका थिए ।
 नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो २:५५ बजेमा बर्दिया राष्ट्रिय निकुञ्जबाट भिरकुना झरेका ह्यारीलाई स्थानीय उलीदेवी महिला समूह र सन्तोषी आमा समूहका महिला, उलीदेवी युवा क्लबका युवकयुवती र स्थानीय विद्यालयका बालबालिकासँगै बाबा समूहले भव्य स्वागत गरे ।
निलो जिन्स पाइन्ट, जुत्ता र सर्ट लगाएर गाउँ आएका ह्यारी बालबालिकासँग निक्कै झ्याम्मिए । वडा नागरिक मञ्चकी संयोजक सरस्वती गुरुङले ह्यारीलाई स्थानीय बासिन्दाले तयार पारेको झोला उपहार दिइन् । स्वागतले हौसिएका ह्यारीले निवृत्त बेलायती सेनाका परिवारसँग अन्तरंग कुराकानी गर्नसमेत भ्याए ।
पूर्वबेलायती सेना स्व. बलराम गुरुङकी पत्नी पाकुल्ली गुरुङको भूकम्पले भत्काएको घर हेर्दै टोलाएका ह्यारीले उनको भित्री इच्छासमेत बुझ्ने प्रयास गरे । शारीरिक रूपमा अशक्त छोरा चोकबहादुर गुरुङसँगै बस्दै आएकी उनलाई ह्यारीले प्रश्न गरे, ‘लाहुरेसँग विवाह गरेकोमा खुसी लाग्छ ? ‘ ह्यारीलाई उनले जबाफ दिइन्, ‘खुसी छु ।’
बेलायती सेनामा हुँदा इन्डोनेसिया र बु्रनाईमा लडाइँ लडेका बेलायती पूर्वसेनाका ‘फस्र्ट÷सेकेन्ड’ जीआर रजमान गुरुङ गोरखा वेलफेयर स्किम (जीडब्लूएस) को सहयोगमा भूकम्पले भत्काएको घर बनाउँदैछन् । निर्माणाधीन उनको घरमा ह्यारी आइपुग्दा रजमानदम्पती निक्कै खुसी देखिन्थे । ‘बेलायतबाटै हामीलाई भेट्न आउँदा निकै खुसी लाग्यो नि’, रजमानले भने ।
गोर्खा पूर्वसैनिकका परिवार भेटेपछि पदयात्राका लागि निस्किएका ह्यारीलाई हेर्न स्थानीय बासिन्दाको ओइरो लागेको थियो । ‘त्यस्तो राजा मान्छे पनि पैदल कसरी हिँड्ने रहेछन् भनेर आएका हौं’, गौंडा ३ का रनबहादुर गुरुङले भने । उनले भिरकुनादेखि गौंडाको लेउरानीसम्म झन्डै एक घन्टा पैदल यात्रा गरे ।
ह्यारीले सोमबार राति गौंडा ७ लेउरानीस्थित मंगली तामाङको घरमा बिताएका छन् । स्थानीयले देखाएको सोरठी तामाङ सेलो हेर्दै रमाएका ह्यारीले सूर्यास्तको अवलोकन पनि गरे ।
पाँचदिने नेपाल भ्रमणमा आएका ह्यारीले मंगलबार बिहान सूर्योदय हेरेपछि गौंडा १ ओखरीस्थित भूकम्पले क्षति पुर्‌याएको गोरखा वेलफेयर स्किम (जीडब्लूएस) द्वारा निर्माणाधीन १० कोठे गौंडा माध्यमिक विद्यालयको अवलोकन गर्ने जानकारी गोरखा वेलफेयर ट्रस्ट लमजुङका प्रमुख क्याप्टेन बालकृष्ण गुरुङले दिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण