युरोपको मुटुमा प्रहार, दुई ठाउँमा भएको विष्फोटमा २६ जनाको मृत्यु नेपालीहरु सुरक्षित
चैत्र ९ । बेल्जियम र युरोपियन युनियन ९ईयू०को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ । उक्त बम विष्फोटको धमाकाले त्यस आसपासको जनमानसमा ठूलो त्रास उत्पन्न भएको थियो । दुई ठाउँमा भएको विष्फोटमा अहिलेसम्म २६ जनाको ज्यान गएको छ ।
मंगलबार स्थानीय समयअनुसार बिहान करिव ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम विष्फोटबाट ९समाचार तयारपार्दासम्म०सम्म ११ जना सर्वसाधारणको ज्यान गएको छ । यसलगत्तै ईयूको मुख्यालय नजिकै मोलेनवेक ट्राम स्टेशनमा भएको विष्फोटमा परि १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको जानकारी स्थानिय अधिकारीले दिएका छन् ।
विष्फोट पछि केही बेरसम्म सर्वसाधारण भुईंमा लडिरहेको अवस्थामा परेका थिए । निकै ब्यस्त विमानस्थल र ब्यस्त ट्राम स्टेसनमा भएको यो विष्फोटले युरोपको मुटुमा प्रहार गरेको संज्ञा दिइएको छ । ब्रसेल्स युरोपको राजधानीको रुपमा रहेको छ भने यहाँ युरोपेली मुलुकहरुको मुख्य मुख्य बैठक समेत हुनेगर्छ । पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौथो दिनमा नै यस्तो घटना भएको हो ।
उडान बुधवार बिहान ६ बजे सम्मलाई बन्द गरिएको छ । पछिल्लो समय होल्ड भएका उडानहरु भने सुचारु भएका छन् । राजधानी ब्रसेल्समा आसपासका क्षेत्रका सार्वजनिक यातायातका साधनहरु पूर्ण रुपमा बन्द भएका छन् । देशभरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ । ब्रसेल्स क्षेत्र भित्र करिव ५ सय नेपालीहरु बसोवास रहेको नेपाली दूतावासले जानकारी दिएको छ । दूतावास अधिकारीहरुका अनुसार कोही पनि त्यसमा नपरेको बताइएको छ । तर पनि सबै नेपालीहरुसँग सम्पर्क गर्ने र गैर आवासिय नेपालीहरुमार्फत बुझ्ने काम भइरहेको छ । विभिन्न स्थानमा खानतलासीहरु शुरु भएको छ । पेरिस आक्रमण पछि नै युरोपेली मुलुकहरुले सुरक्षा सतर्कता बढाउँदै गाएका थिए । बृहत सुरक्षा सतर्कतालाई पनि तोडेर संवेदनशिल क्षेत्रमा नै सर्वसाधारण माथि भएको यो प्रहारलाई अमानवियताको पराकाष्ठको रुपमा यहाँका प्रधानमन्त्री चार्ल्स माइकलले बताएका छन् ।
घटनास्थल वरिपरि नेपालीहरु बसोवास गरेता पनि घटनामा हताहत भएको हालसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले जानकारी दिँदै भने, ‘बुझ्ने काम भइरहेको छ । यसले हामीलाई स्तब्ध बनाएको छ ।’ गैरआवासिय नेपाली एनआरएनको घटनाबाट स्तब्ध भएको उल्लेख गर्दै नेपालीहरुलाई सहयोगको लागि सम्पर्कमा रहन भनेको छ । एनआरएन अध्यक्ष गंगाधर गौतमले आफुलाई पनि नेपाली हताहत भएको अहिलेसम्म जानकारी नआएको बताउँदै सहयोग गर्नु परे तुरुन्त तयार रहेको जानकारी गराए ।
ब्रसेल्समा रहेका नेपाली तथा अन्य सर्वसाधारणहरु बाहिर निस्कन समेत डराएका छन् । तर बम विष्फोट भएको क्षेत्र भन्दा अन्यमा जनजीवन सामान्य देखिएको काममा फर्केका नेपालीहरुले बताएका छन् । सार्वजनिक यातायता नचलेपनि ट्याक्सीहरु भने चलिरहेका छन् । सुरक्षाकर्मीहरु यत्रतत्र घुमेका छन् । पहिलो चरणमा एअरपोर्ट र सवस्टेसन पुरै आफ्नो नियन्त्रणमा लिएर छानविन गरेको थियो ।
तर, अझै पनि विष्फोट कसले गराएको भन्ने विषय खुल्न सकेको छैन् । यो घटनाका अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएकोले कसले गर्यो भन्ने एकिन हुन नसकेपनि यो बर्वर र अततायी रहेको छ । विश्वभरबाट उक्त घटनाको भर्सना गर्दै यस्ता घटनामा लाग्ने आतंककारीहरुको विरुद्ध सबै एक भएर लड्न पर्ने समेत आह्वान भइरहेको छ ।
कान्तिपुर दैनिकबाट