कसरी पुग्यो पूर्वप्रधानपञ्चको घर भारतमा ?
सुनसरी, २५ साउन – सुनसरीको तत्कालीन श्रीपुर गाउँ पञ्चायतमा चारपटक प्रधानपञ्चमा भएका अबधनारायण मरवैताको घर अहिले भारतको बिहार राज्यअन्तर्गत वीरपुर नगरपालिकामा परेको छ । पुर्ख्यौली घर भएको गाउँको सीमा भारतले मिचेपछि आफ्नो घर मुलुकबाहिर परेको उनले बताए ।
२०१८ सालमा भएको गाउँ पञ्चायतको पहिलो निर्वाचनमा उनी तत्कालीन श्रीपुर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका थिए। त्यसपछि तीनपल्ट उनी प्रधानपञ्च भए ।
उनले प्रधानपञ्च जित्दा जुन घर थियो त्यो हाल बिहारको सुपौल जिल्लाको वीरपुर नगरपालिकामा परेको छ । उनले भारत सरकारले श्रीपुर गाविसका सीमास्तम्भ बेपत्ता पारी नेपाली भूमि अतिक्रमण गर्दा यस्तो अवस्था आएको बताए ।
सुनसरीको श्रीपुर गाविस–१ मा त्यतिबेला अनकण्टार जंगल थियो । तर अहिले उक्त जंगल मासेर भारतले अतिक्रमण गरी बस्ती बसाएपछि नेपालको सयौं बिघा जमिन भारतमा परेको अवधनारायणले बताए ।
अन्नपूर्णपोस्ट् दैनिकबाट