गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, साहित्य, स्वास्थ्यव्यवसायिक तरकारी खेतीमा किशोरीहरुको आकषर्ण बढयो

व्यवसायिक तरकारी खेतीमा किशोरीहरुको आकषर्ण बढयो

March 23, 2016२५६ पटक

बागलुङ, १० चैत्र
जिल्लाको कुश्मीसेरा–४ की १८ बर्षिय माया नेपालीले दुइवटा प्लाष्टिक टनेलमा गोलभेडा लगाएर २ लाख आम्दानी गर्न थालेकी छिन् । सानै उमेरमा विवाह भएकोले पढाई छाडेकी नेपालीको आर्थिक अवस्था पनि कमजोर थियो ।

परिवारसंगै ज्याला मजदुरी नगरेसम्म खान नपुग्ने भएपछि कामको खोजीमा उनको परिवार भौंतारिन्थ्यो । एक बर्षअघि उनले तालिम लिएर थालेको कृषि कर्मले परिवारलाई राहत दिएको छ । उनले बेमौसमी तरकारी पनि लगाउन थालेकी छिन् । गाउँमा गठन भएको युवा महिला समूहलाइ जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तालिम दिएर उन्नत बीउ उपलब्ध गराएपछि नेपाली जस्तै धेरैले आम्दानी बढाउन थालेका छन् । ‘सबै प्रकारका तरकारी लगाएपछि आम्दानी बढेको छ’ नेपालीले भनिन्, ‘कुश्मीसेरा बजारमै सबै तरकारी विक्रि हुन्छ ।’ शुरुवा वेवास्ता गरेका परिवारले उनको काममा सहयोग गर्न थालेको उनले बताइन् ।

राङखानीकी निर्मला आचार्यले पनि बारीमा तरकारी लगाएपछि बाबुआमाले साथ दिएका छन् । तरकारी विक्रिले आउने आम्दानीले उनले पढाइ खर्चको जोहो गर्न पाएकी छिन् । भाइबहिनीको कितावकापी र घर खर्च पनि चल्न थालेपछि बाबुआमाले साथ दिएको उनले बताइन् । ‘बारी बाँझै राखेर बजारबाट आएको तरकारी खान्थ्यौं, अहिले विक्रि गरेर आम्दानी बढाउन सकेका छौं’ आचार्यले भनिन्, ‘बर्षको २ लाख रुपैयाँ तरकारीबाटै आम्दानी गर्न सकिएको छ ।’ उक्त पैसाले परिवारमा खान लाउन सहज भएको उनले बताइन् । सानो उमेरमा विवाह भएका, आर्थिक कारणले पढाइ छाडेका र छाड्न सक्ने जोखिममा परेका किशोरीलाई लक्षित गरेर गाजा युवा क्लबले गाउँगाउँमा समूह गठन गर्दै आयआर्जनको काम दिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा क्लबले कृषि उत्पादनको काम दिएको हो । ‘पढाई छाडेका किशोरीलाइ जोखिममा पर्न नदिन व्यवसायिक बनाएका छौं’ क्लबका व्यवस्थापक सूर्यप्रसाद कंडेलले भने, ‘जोखिममा पर्न थालेका किसोरीलाई पनि आयआर्जनमा सहभागी गराएपछि परिवारले पढाई निरन्तरता दिन लगाएका छन् ।’ क्लबले जिल्लाका २५ गाविसमा ३० देखि ४० जना सम्मको समूह बनाएर उनीहरुलाइ पढाईसंगै आयआर्जनमा लाग्न प्रेरित गरेको हो । नेतृत्व विकास, वकालत, आयआर्जन लगायतको तालिम दिएर जोखिममा पर्नबाट जोगाउने अभियान संचालन गरेको उनले बताए । अधिकांस दलित समूदायका किशोरी र केही अन्य समुदायमा पनि यस्ता समूह गठन भएका हुन् ।

सानै उमेरमा विवाह गर्ने चलन हटाउने, विवाह गरेर आर्थिक कारणले परिवारमा बेमेल हुन सक्ने खतरा हटाउने र आयआर्जनमा सक्रिय बनाउन प्लान इन्टरनेशनल नेपालले दलित सशक्तिकरण र क्लबसंग ‘बालिका अगाडि बढाऔं’ कार्यक्रम संचालन गरेको छ । उक्त अभियान मार्फत किशोरी शिक्षा सहित आयआर्जनका काम ल्याएको हो । ‘स्वच्छ तरकारी खान पाउने र आम्दानी बढाउने कामलाइ जोडेका हौं’ प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रवन्धक नितु आचार्यले भनिन्, ‘आर्थिक कर्म नभएपछि पढाइ छाड्ने, सानो उमेरमा विवाह हुने र सडक बालबालिका बढ्ने जोखिम बढेको पाइयो ।’ यो अभियानले विपन्नतालाइ कमी गरेर संभावित खतरा टार्न सकिने उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण