ट्वेन्टी–ट्वेन्टी विश्वकपबाट अस्ट्रेलिया बाहिरियो
चैत १५ – भारत आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति मोहालीमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई ६ विकेटले हराएर भारतले अन्तिम चारमा स्थान बनाएको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य भारतले पाँच बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा विराट कोहली नायक बने । कोहलीले ५१ बलमा ९ चौका र दुई छक्काको मद्दतमा नटआउट ८२ रन बनाए ।
यस्तै युवराज सिंहले १८ बलमा २१, कप्तान महेन्द्र सिंह धोनीले १० बलमा नटआउट १८, शिखर धवनले १२ बलमा १३ तथा रोहित शर्माले १७ बलमा १२ रन बनाए ।अस्ट्रेलियाका सेन वाट्सनले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि एरोन फिन्चले ४३, ग्लेन म्याक्सवेलले ३१, उस्मान खावाजाले २६ तथा सेन वाट्सनले नटआउट १८ रन बनाएपनि हार टार्न सकेनन् र अस्ट्रेलिया सुपर टेनबाट बाहिरिन बाध्य भयो ।
ट्वेन्टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । समूह ‘दुई’ बाट न्युजिल्याण्ड र भारत तथा समूह ‘एक’ बाट वेष्ट इन्डिज र इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । (एजेन्सी)