गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यहावाहुरी र आँधी फेरि आउन सक्छ

हावाहुरी र आँधी फेरि आउन सक्छ

March 30, 2016११९ पटक

मदन पौड्याल
काठमाडौं, चैत १७ – सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा दिउँसै अँध्यारो भयो । एक्कासी आएका हावाहुरीले घरका छाना उडायो, रुख ढाल्यो । हावाहुरीले भाग्दै गर्दा घाइते भएकी कञ्चनपुर महेन्द्रनगरकी ३५ वर्षकी बिमला मगरको उपचारका क्रममा ज्यान नै गयो ।
त्यस्तै परिवारका सदस्यसँगै स्वयम्भू घुम्न निस्केकी भावना बडु अस्पतालको आइसियू कक्षमा हुनुहुन्छ । अन्नपुर्ण न्यूरो अस्पतालको पाँचौ तलामा रहेको आइसियूमा उहाँको उपचार भइरहेको छ । हावाहुरीले स्वयम्भू नजिकैको घरको छाना उडाउँदा ईंट्टाले टाउकोमा लागेर उहाँ घाइते हुनुभएको हो । अरु ११ जना पनि घाइत भएका छन् । हावाहुरीका कारण झण्डै एक घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । हावाहुरीले किसानका खेतीबाली पनि नष्ट गरेको छ ।
हावाहुरी यो पटक मात्र आएको होइन । हरेक वर्ष यो समयमा यसरी नै हावाहुरी चल्ने गर्छ । २०४४ सालको फागुन २९ गते यस्तै हावा चल्दा अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल भइरहेका बेला दर्शकले खचाखच रंगशालामा एकाएक भागदौड मच्चियो । त्यसबेला ७३ जनाको ज्यान गएको थियो भने २ सय घाइते भएका थिए ।
सोमबारको हावाहुरीले त्यति ठूलो जनधनको क्षति नगरेपनि सबैलाई भुईंचालाको याद भने दिलायो । पश्चिमबाट सुरु भएको प्रतिघण्टा झण्डै ८० किलोमिटरको बहावमा आएको हावाहुरी पूर्वमा पुगेर सकिएको थियो । तर अझै पनि सोमबारको जस्तो हावाहुरी र आधिँबेरीको सम्भावना भने अझै नटरेको मौसमविदले बताएका छन् ।

किन आउँछ हावाहुरी र आँधी
चैत, वैशाख र जेठमा गर्मी हुन्छ । मनसुन सुरु हुनु भन्दा अगाडिको अवस्थामा दिउँसोपछि हावाहुरी, आँधी आउने र चट्याङ्ग समेत पर्छ । अहिले प्रिमनसुनको अवस्थामा एक मिटरदेखि डेढ मिटरप्रति सेकेण्ड हावा बहँदा सामान्य मानिन्छ । तर सामान्य अवस्थाको भन्दा तीब्र गतिमा बहन थाले हावाहुरी लागेको भन्ने गरिन्छ । मौसमविदका अनुसार चट्याङ्ग गराउने बादलका कारण यो बेलामा एक्कासी हावाहुरी चल्ने गर्छ ।
हावाहुरी सँगै पानी पार्ने यस्तो बादललाई क्युनोनिमस क्लाउड भनिन्छ । यस्तो बादल तल जमिनतिर आउनुलाई डाउनड्राफ्ट भनिन्छ । यही कारणले धुलो उड्ने गरी हावाहुरी लाग्छ । यसले नै चट्याङ्ग समेत उत्पन्न गर्छ । हावाहुरी र पानी सँगै चट्याङ्ग गराउने बादलको विकास भएपछि विभिन्न अवस्था हुँदै सकिने गर्दछ । त्यसैगरी चक्रवातको विकास हुँदा पनि अत्यन्तै ठूलो हुरी लागि जनधनको क्षति हुने गर्दछ । मनसुन सुरु नहुँदासम्म बिहान मौसम सफा भएपनि दिउँसो पछि हावाहुरी चल्ने सम्भावना हुन्छ । स्थानीय वायुको प्रभावका कारण विशेषगरी खोला, खोंचको आसपास र पहाडी क्षेत्रमा मौसम सफा रहेपनि एक्कासी तीब्र गतिमा हावाहुरी चल्ने भएकाले सचेत रहन आवश्यक छ ।
सावधानी अपनाउन नसकेमा यो बेला ठुलो धनजनको क्षति हुन्छ । तीब्र गतिमा चल्ने हावाका कारण रुखहरु ढल्ने तथा जस्ताको छाना उडाउने र दुर्घटनाको जोखिम हुने भएकाले सावधानी अपनाउन सकिन्छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार स्थानीय वायुको प्रभावका कारण विशेषगरी खोला, खोंचको आसपास र पहाडी क्षेत्रमा मौसम सफा रहेपनि एक्कासी तीब्र गतिमा हावाहुरी चल्ने भएकाले सचेत रहन आवश्यक छ ।

सम्भावित जोखिमबाट कसरी जोगिने
प्रिमनसुनमा हुने अवस्थाबारे आफै सचेत रहनु सबैभन्दा उत्तम विकल्प हो भन्नुहुन्छ विभागका महानिर्देशक शर्मा । त्यसका लागि आफू बसेको घर, घर बाहिर भएमा कुन ठाउँमा छु भनेर जोखिम पत्ता लगाउने किनभने हावाहुँरी, आधिँबेरी जुनसुकै बेला आउन सक्छ । घरभित्र भए ज्याल ढोका राम्ररी बन्द गरेर बस्ने ।
त्यस्तै घर बाहिर निस्कँदा शरीरलाई सुरक्षित गर्ने गरी पुरै छेक्ने कपडा लगाउने अनि सकिन्छ भने खुट्टामा जुत्ताको प्रयोग गर्दा राम्रो हुन्छ । आकाश गड्याङगुडुङ्ग गरेपछि भ्याएसम्म घरभित्र पस्नुपर्छ । तर बिजुली पोलको आडमा र ठुला रुखमुनि बस्न हुँदैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण