सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने
चैत १७ – सशस्त्र द्वन्द्वकालका पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य ता तत्कालिन माओवादीबिच भएको द्वन्द्वमा मानव अधिकारका गम्भीर उल्लंघनमा परेकाले आउँदो वैशाख महिनादेखि उजुरी दिन पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक सूचना निकालेर वैशाख ५ गतेदेखि असार २ गतेसम्म पीडितले उजुरी दिन सक्ने जनाएको छ । उजुरी दिन फारम भर्नु पर्ने र यो फारम आयोगको कार्यालय बबरमहल काठमाडौं तथा जिल्लाका स्थानीय शान्ति समितिको कार्यालयमा निशुल्क पाइन्छ ।
यस्तै आयोगको वेबसाइटमा गई फारम डाउनलोड पनि गर्न सकिने छ । पीडितले चिठ्ठी, इमेल तथा फ्याक्स् ०१–४२२०२९७ मार्फत र पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१०००२० मा उजुरी दिन सक्ने आयोगले जनाएको छ । बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनजन्य हिंशामा परेका व्यक्तिलाई उजुरी दिन आयोगले विशेष व्यवस्था गर्ने जनाएको छ ।
उजुरीमा के के हुनुपर्छ
उजुरीमा पीडितले देखेका, भोगेका र थाहा पाएसम्मका सबै कुरा लेख्नुपर्छ ।
पीडितको कुरा गोप्य राख्न, उजुरी खामबन्दी गरी पेश गर्न सकिनेछ ।
आफूसँग भएका सबै प्रमाण उजुरीका साथ संकलन गर्न सकिनेछ ।
उजुरी गर्नेले आफ्नो सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाईदिन आयोगलाई अनुरोध गर्न सक्नेछन् ।
उजुरी दिँदा कुनै दस्तुर लाग्दैन ।
कस्ता पीडितले उजुरी दिन सक्नेछन्
हत्या
अपहरण वा शरीर बन्धक
अंगभंग वा अपांगता भएका ÷बनाईएका
शारीरिक वा मानसिक यातना
बलात्कार तथा यौनजन्य हिंशा
व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी
घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापित
अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुन विपरित गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अन्य अपराध ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले थप जानकारीका लागि टेलिफोन नम्बर ०१–४२४३७३७ र ०१–४२४६१३३ तथा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१०००२० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि न्याय नपाएको पीडितका गुनासाकाबीच आयोगले उजुरी दिन सक्ने व्यवस्था गरेको हो । उज्यालोबाट