गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यकुमारीपाटीमा जाम गर्ने गाडीलाई तह लगाइने

कुमारीपाटीमा जाम गर्ने गाडीलाई तह लगाइने

August 5, 2015९६८ पटक

ललितपुर, साउन २०– ललितपुरको कुमारीपाटी क्षेत्र उपत्यकाकै व्यस्त ठाउँ मध्येमा पर्छ । स्कुल, क्याम्पस, सरकारी कार्यालय र व्यापारिक प्रतिष्ठान धेरै भएकाले गर्दा यहाँ हरेक दिन घुईंचो हुने गर्छ । निकै चहलपहल हुने यस ठाउँमा पार्किङको भने समस्या छ । सडक छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ ।

मानभवनदेखि कुमारीपाटीसम्मको ७ सय ६३ मिटर सडक छेउमा सधैं गाडी पार्किङ हुने भएकाले दुर्घटनाको जोखिम र जामको समस्या बढेको छ । त्यसैले यहाँ ट्राफिक प्रहरीले पार्किङलाई व्यवस्थित बनाउने तयारी थालेको हो । ‘सडकबाट फुटपाथसम्म गाडी तेर्साएर राख्दा दुईलेन सडक पुरै प्रभावित हुने गरेको छ, त्यसैले पार्किङ क्षेत्र बाहेक सडकको अरु ठाउँ नछेकिनेगरी पार्किङको व्यवस्था गर्न लागेका छौं’ ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले भन्नुभयो ।

उहाँका अनुसार यसरी पार्किङ गरेर राखिएका गाडीको लम्बाई झण्डै १५ देखि २० फिटसम्मको हुन्छ । यसरी राखिएका गाडीले एकलेन भन्दा बढी सडकको भाग ओगटेको हुन्छ । त्यसमाथि पार्किङमा राखिएका गाडी गुड्ने बेला ब्याक गर्नुपर्छ । ब्याक गर्दा सडकको आधीभाग नै त्यो गाडीले ओगट्ने गर्छ । जसले गर्दा गाडी जाम हुने र दुर्घटनाको जोखिम बढ्ने समस्या छ ।

सडकमा तेर्सो बनाएर गाडी राख्नुको सट्टा अब सडकको लम्बाई अनुसार छेउमा गाडी पार्किङ गर्ने तयारी भएको हो । अहिले अनुसार पार्किङ गर्दा त्यस क्षेत्रमा एकसय ५० वटा गाडी पार्किङ गर्न सकिने र नयाँ व्यवस्था लागू हुँदा त्यसमा ३० वटा जति कम हुने हाछेतुले बताउनुभयो । तर दुर्घटनाको जोखिम र जामको समस्या हटाउन पनि पार्किङलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाई छ ।

अर्को हप्तादेखि पार्किङको नयाँ व्यवस्था लागू गर्ने तयारी भएको हाछेतुले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण