डोटीका डिएसपीले सारे रातारात डेरा
चैत २३, डोटी
जिल्ला प्रहरीको हाताभित्र रहेको महिला तथा बालबालिका जिल्ला संञ्जालको कार्यालयमा रहेको डिएसपीको डेरा रातारात सारिएको छ । बुधबार प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल डोटी आइपुग्ने भएपछि भवनको दुरुपयोग गर्दै आएका डिएसपी डम्बर बहादुर चन्दले डेरा सारेका हुन् ।
उनले आइतबार राती आफ्नो डेरा सारेर जिल्ला प्रशासन कार्यालय अगाडी रहेको क्वाटरमा लगेका छन् ।
पीडीत महिला तथा बालबालिकाहरुका मुद्धालाई सोझै तालिम प्राप्त प्रहरीबाट परामर्श गर्ने उदेश्यका साथ निर्माण गरिएको कार्यालयको दुरुपयोग भएको बिषयमा डिएसपी चन्दको डेरा सरेपछि मात्र रहस्य बाहिर आएको हो । ‘त्यहा त डिएसपीको काम नै हुदैन’, सुरक्षा निकायकै एक अधिकृतले भने–‘त्यसमा झन् डेरा हालेर बस्नु सरासर दुरुपयोग हो ।’
०६८ सालमा बिश्व बिकास बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको भवनका ५ कोठा छन् । पीडीतहरुलाई परामर्श गर्ने, मनो बिमर्श गर्ने, जनचेतना जगाउने, मेलमिलाप गर्ने, पीडीतहरु आएपछि सेल्टर दिने प्रयोजनका लागि निर्माण गरिएको कार्यालयमा लामो समय देखि डिएसपी चन्द डेरा हालेर बस्नु भएको थियो ।
‘म मंसिरको अन्तिमतीर संञ्जालको अध्यक्षमा चुनिएकी हु’, अध्यक्ष शशी
सोपले कुरा खुलाईन्–‘मैले २÷३ पटक उहालाई यता नबस्नुस भनेर आग्रह गरेकी थिए । उहाले आफ्नो सरुवा हुन लागेकाले मात्र रोकिएको जानकारी गराउनु भएको थियो ।’ उनले कार्यालय उपयोगमा नआएको अवस्थामा मात्रै डिएसपी चन्द डेरामा बसेको बताइन् । सोपले अधिकांस सामान यस अघि नै सारिएको र अहिले खाना पकाउने केही सामान मात्र रहेको भन्द्र चन्दको वचाउ गरिन् । डिएसपी चन्दले पनि जिल्ला प्रशासन कार्यालय अगाडी रहेको भवनमा प्रयाप्त ठाउ नभएकाले उपयोगमा नरहेको अवस्थामा मात्रै आफु संञ्जालको कार्यालयमा केही समयका लागि बसेको बताए ।
तर जिल्ला प्रहरी कार्यालय प्रमुख डिल्लीराज बिष्टले आइजीपी आउन लागेकाले मात्र डेरा सार्न लगाएको नभई आफु डोटी आउने बित्तिकै त्यसबारे पहल गरेको जानकारी दिए । ‘त्यहा त बस्न मिल्दै मिल्दैन’, प्रहरी उपरिक्षक बिष्टले भने–‘प्रहरीले सधै चनाखो हुनु पर्छ भन्ने कुराको मैले ख्याल गरेको छु, त्यही अनुरुप डिएसपीको डेरा सारिएको हो ।’