गृहपृष्ठ » पत्रपत्रीकामध्यपश्चिमका पहाडी भेगमा ४० वर्षयताकै ठूलो खडेरी

मध्यपश्चिमका पहाडी भेगमा ४० वर्षयताकै ठूलो खडेरी

April 7, 2016६९ पटक

विद्युत् उत्पादन घट्यो

प्रकाशित मिति: बिहिबार, चैत्र २५, २०७

काठमाडाैँ : पुस्तौंदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० धरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुराको भन्दा पनि पिउने पानीको पिरलो छ ।

गाउँलेले पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरेका छन् । त्यति पानी लिन पनि रातभर जाग्राम बस्नुपर्छ । ‘कहिल्यै नसुकेको पानीको मुहान पनि यस पटक सुके । गाउँ नै काकाकुल भएको छ,’ स्थानीय धनसिंह रोकायाले भने ।

रुगा गाविसका डेढ सय दलित परिवारलाई पनि पानीको संकट उत्तिकै छ । गाउँदेखि आधा घण्टा टाढाको कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन पनि मुस्किल हुन थालेको छ ।

कुवामा पानी भर्न रुगा गाउँका बासिन्दा लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाए रातभर कुवामै बसेर पानी भर्ने गर्छन् । ‘ज्यालादारी काम गरेर भए पनि चामल किनेर खाउँला । तर पानी कहाँबाट ल्याउने ?’ रुगा गाविसकी जउकली कामीले भनिन्, ‘अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो ।

जिमा गाविसको सोरुकोट र बन्जाह गाउँका करिब दुई सय परिवारलाई पानीको उस्तै दु:ख छ । खडेरीका कारण दिउँसो धारोमा पानी आउँदैन । राति थोरै आउँछ । त्यो पनि हारालुछ हुन्छ । सोरुकोट गाउँका बासिन्दा हातमा जर्किन बोकेर आधा घण्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँमा रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ ।

‘हामीलाई भोकमरी परेको भन्दा पनि संकट भयो,’ बन्जाह गाउँकी पुनी मल्लले भनिन्, ‘खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके । एक गाग्री पानी पाउन पनि गाह्रो हुन थाल्यो ।’ मुगुमा लामो खडेरीले परम्परागत पानीका मुहान सुकेपछि गाउँ छाडेर अन्यत्र सर्नुपर्ने अवस्था आउन थालेको छ ।

जिमा गाविसको ख्याल्च गाउँमा पनि पानीको उस्तै समस्या छ । करिब ८० घरधुरी रहेको उक्त गाउँको पुरानो मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको छ । आधा घण्टा टाढा पुगेर पानी ल्याउनुपर्ने अवस्था आएपछि ख्याल्च गाउँका बासिन्दा चिन्तित छन् । फोतु गाविस सोडडाका ४५ घरधुरी पनि यही पीडामा छन् ।

‘खडेरीले गाउँका पुराना सबै साना मूल सुकिसुके,’ रुगा सुम्ली गाउँका ७२ वर्षीय धने भण्डारीले भने, ‘यस्तै हो भने अब कर्णालीको छेउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो ।’ समुद्र सतहदेखि करिब २९ सय मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारातालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलो पटक ताल आधा मिटर घटेको छ ।

रारा राष्ट्रिय निकुञ्ज संरक्षण निमित्त अधिकृत गोपाल खत्रीले ठूलो खडेरीले पानीका मुहान सुकेपछि तालको पानी आधा मिटर घटेको बताए । रारा तालको निकास खत्याड खोला पनि सुकेको छ ।

रारा तालको पानी घटेपछि कार्कीबाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी मुहान सुकेका छन् । लेकाली बस्तीका बासिन्दालाई पानी जोहो गर्नै मुस्किल भएको छ ।  मुगुका २४ वटै गाविसमा करिब २ सय पानीका मुहान सुकेका छन् ।

यसको असर मानव, चौपाय, वन्यजन्तु र चराचुरुंगीलाई परेको छ । सरकारी तथा गैरसरकारी स्तरबाट निर्माणाधीन खानेपानी आयोजनासमेत प्रभावित भएका छन् । निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ ।

पानी नपर्दा डोल्पामा पनि मुहान सुकेर खानेपानीको हाहाकार भएको छ । मूल सुक्दै गएपछि सर्मी गाविस ४, ५ र ६ का २ सय घरधुरी र त्रिपुराकोट ७ र ८ का डेढ सय घरधुरीका बासिन्दाले प्रयोग गर्दै आएको पानीका मूल सुकेका छन् । अहिले अलिअलि आउने धारामा भीड लाग्ने गरेको छ ।

त्रिपुराकोटको रसी र सर्मीको ओक्ट गाउँमा पनि खानेपानीको समस्या छ । सर्मीको ओक्टका वीरभद्र रोकायाले धारा सुकेपछि घण्टौं पालो पर्खेर पानी थाप्नुपरेको बताए ।

त्यस्तै, त्रिपुराकोट रसीका शेरबहादुर बुढाले पनि हिउँ नपरेकाले खानेपानीको मुहान सुकेको बताए । ‘विभिन्न सरकारी तथा गैरसरकारी निकायले बनाइदिएको कलधाराको त कुनै काम छैन । मूलमा नै पानी सुकेपछि ती सबै बेकार भएका छन्,’ बुढाले भने ।

त्रिपुराकोटको रसीका तीनवटा धाराको मूल सिमखोला सुक्दै गएपछि डेढ सय घरधुरीले समस्या भोगिरहेको सरसफाइ तथा खानेपानी सव–डिभिजन कार्यालय दुनैले जनाएको छ । यस्तै, सर्मीको ओक्टका २ सय घरधुरीले प्रयोग गर्दै आएका २ वटा मूल सुकेका छन् । स्थानीय जगबहादुर रोकायाले भने, ‘पानी नभएपछि मानिस मात्र होइनन्, पशुले समेत खान पाएका छैनन् ।’

विद्युत् उत्पादन घट्यो
हुम्ला सदरमुकामलगायत ६ गाविसका बासिन्दाका लागि विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना विद्युत् आयोजनाबाट अघिल्ला वर्ष ५ सय किलोवाट उत्पादन हुँदै आएको थियो ।

लामो खडेरीले पानीको सतह घटेपछि अहिले २ सय ५० किलोवाट मात्र उत्पादन हुन थालेको छ । यही कारण सिमकोटका बासिन्दाले अहिले २० घण्टा लोडसेडिङ बेहोर्नुपरेको छ ।
खोलाको पानी सुकेकाले उत्पादन घटेको प्राविधिकले बताएका छन् ।

इन्जिनियर जाङवु शेर्पाले निर्माण सुरु हुनुभन्दा पहिले ५ सय किलोवाट भन्दा पनि बढी उत्पादन हुने देखिएपछि ६ गाविसलाई उपलब्ध गराउने लक्ष्य निर्धारण भएकोमा अहिले पानी सुकेकाले उत्पादन घटेको बताए ।

हिउँदमा पाँच फिटभन्दा बढी हिउ पर्ने हुम्लामा लामो खडेरीले खोला पनि सुक्दै गएका छन् । यो वर्ष हिउँ पनि खासै परेन । मुहान सुकेर पानी घटेकाले आपूर्तिमा समस्या भएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख इन्जिनियर ज्वालाराज शाहीले बताए ।

‘मुहान सुकेर ठप्पै त भएको छैन, तर खानेपानी पुर्‍याउनै मुस्किल भएको छ,’ उनले भने । शाहीका अनुसार सदरमुकाम सिमकोटमा खानेपानी उपलब्ध गराएको हुमाने खोला सुकेकाले बुराउसे खोलाबाट पानी ल्याएर पुरानो मुहानमा मिसाई वितरण गरिएको छ ।

जुम्ला सदरमुकाम खलंगामा पनि खानेपानीको हाहाकार भएको छ । मुहान सकेपछि सदरमुकामको भण्डारीबडा बस्तीका धारामा पानी आउन छाडेको छ ।

खोला सुकेकाले स्थानीय सानाजलविद्युत योजनाको विद्युत उत्पादन घटेको छ । यसबाट दैनिक तीन घण्टा मात्र विद्युत आपूर्ति भएको छ । खोला सुक्नु अघि तीन घण्टा लोडसेडिङ हुने गरेको थियो । मुहान सुकेपछि किसानले गाइबस्तु चराउन लैजान छाडेका छन् ।

चरनकै समयमा पानी खुवाउन नपाईने भएपछि उनीहरूले चराउन पनि बन्द गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पानी सुक्दै जॉदा सिंचाई प्रभावित भएको छ । यसबाट ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण