चैत २६, उदयपुर । उदयपुरको जलजलेस्थित उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ ।

उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको कुरा उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए । बिग्रेको मेसिनको दाँती मर्मत गरेर ल्याई परीक्षणसमेत गरिएको कारण अब आजदेखि उद्योग सञ्चालन भई सिमेन्ट उत्पादन सुरु हुने कुरा उद्योग प्रशासनका प्रमुख पौडेलले बताए ।

नयाँ मेसिन खरिद गर्नका लागि जापानबाट पनि टेन्डर खुलाएर काम अगाडि बढाइएको कुरा उद्योग प्रशासनले जनाएको छ ।

करिब दुई महिनासम्ममा जापानबाट अर्को नयाँ मेसिनसमेत आइपुग्ने भएको कारण पनि तत्काल बिग्रेको मेसिन मर्मत गरेर काम चलाउ गर्न सकिने भएको कारण उद्योग सञ्चालन सुरु हुन लागेको उद्योगले बताएको छ ।

उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँ बराबरको सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले जनाएको छ ।