गृहपृष्ठ » मनोरञ्जनआउँदो शैक्षिकसत्रदेखि कक्षा ९ बाट सङ्गीत विषयमा पढाइ हुने

आउँदो शैक्षिकसत्रदेखि कक्षा ९ बाट सङ्गीत विषयमा पढाइ हुने

April 8, 2016१३९ पटक

काठमाडौँ, २६ चैत । प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत सङ्गीत विषयमा आउँदो शैक्षिकसत्रदेखि कक्षा ९ बाट पढाइ हुने भएको छ । सङ्गीत शिक्षालाई विद्यालय तहमा प्रवेश गराउने यो पहिलो कदम हुनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट पिङ्गलास्थानस्थित नेपाल सङ्गीत विद्यालयलाई नयाँ शैक्षिकसत्रमा आउँदो वैशाखदेखि सो तहमा अध्यापन गराउन स्वीकृति दिइएको हो । सो निर्णयअनुसार अन्य सामुदायिक र निजी विद्यालयले पनि पूर्वाधार तयार गरेमा सो विषयमा कक्षा सञ्चालन गर्न पाउनेछन् ।

गुठीअन्तर्गत सञ्चालित सो विद्यालय १० वर्षअघि स्थापना भएको हो । विद्यालयले हालसम्म कक्षा ६ देखि ८ सम्मको सङ्गीत शिक्षालाई ऐच्छिक एक विषयका रुपमा मात्र कक्षा सञ्चालन गर्दै आएको थियो । कक्षा ९ मा सो विषयमा भर्ना हुन तल्लो कक्षामा अन्य विषय पढ्नेले पनि पाउनेछन् ।

सो धारमा अङ्ग्रेजी, नेपाली, विज्ञान तथा हिसाब गरी ४०० पूर्णाङ्क बराबर (प्रत्येक विषयको १०० पूर्णाङ्क) अनिवार्य विषय छन् । यीबाहेक सङ्गीततर्फ आधारभूत सङ्गीत, नेपाली सङ्गीत, सङ्गीत प्रविधि, इन्स्ट्र्रुमेन्ट ः किबोर्ड, सङ्गीत व्यवसाय र कार्यक्रम व्यवस्थापन तथा ऐच्छिक विषयहरू (गायन, वाद्ययन्त्र, नृत्य) गरी ६०० पूर्णाङ्क बराबरको अध्यापन हुन्छ ।

सार्वजनिक शैक्षिक गुठी नेपाल म्युजिक सेन्टरको सो विद्यालयलाई संस्कृतिविद् सत्यमोहन जोशी र म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेतृत्व गर्दै आएका छन् भने यसको सञ्चालक समितिमा शिक्षा र संस्कृति मन्त्रालयका प्रतिनिधि पनि आबद्ध छन् । सरकारले छ वर्षअघि ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रममा कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गतका विभिन्न विषयमा पढाउने नीति लिइएको थियो तर यस धारमा सामुदायिक विद्यालयमा कक्षा सञ्चालन भएमा निःशुल्क पढाउन र शिक्षक दरबन्दी दिन सरकारलाई कठिनाइ हुने देखिन्छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ (पहिलो संशोधन–२०७१) अनुसार गठित केन्द्रीय निर्देशक समितिको यही चैत १० मा बसेको बैठकले पनि विद्यालय तहमा सङ्गीत शिक्षा प्रवेशको बाटो खुला गरेको थियो । अर्काे वर्ष कक्षा १० हुँदै १२ सम्मको क्रमशः पढाइ हुनेछ । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले आफूहरुले सो विषयको पाठ्यक्रम तर्जुमा गरेको र पूर्वाधार तयार भएका विद्यालयले प्रक्रिया पूरा गरेर सङ्गीतजस्ता विषयमा शिक्षा दिन पाउने बताए ।

सो विद्यालयका प्रधानाध्यापक इमनविक्रम शाहले आउँदो सत्रमा कक्षा ९ मा भर्ना हुन २५ जना विद्यार्थी भएको जनाउँदै त्यसका लागि वार्षिक शुल्क रु पाँच हजार र न्यूनतम मासिक शुल्क तोकिने बताउनुभयो । विद्यालयमा मिश्रबहादुर डङ्गोल, रविनदास श्रेष्ठ, विष्णु आचार्य, दुर्गाप्रसाद खतिवडा, हरि महर्जन, शुभबहादुर सुनाम शिक्षक, वनारस हिन्दू विश्वविद्यालयका शिक्षक, प्रअ शाहलगायतले अध्यापन गर्नेछन ।

सरकारले रोजगारीमूलक सीप प्रदान गर्ने शिक्षा नीतिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, प्लान्ट इन्जिनियरिङ, एनिमल हजब्यान्ड्री तथा इलेक्ट्रिकल इन्जिनियरिङ गरी पाँच विषयमा २०७० सालको शैक्षिक सत्रदेखि कक्षा ९ देखि पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरेको हो । यस धारअन्तर्गत ६ देखि ८ सम्म हाल नेपालमा करिब २०० विद्यालयले कक्षा सञ्चालन गरिरहेका छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण