तेस्रोलिंगीलाई ‘ओ’ उल्लेख गरेर राहदानी वितरण
काठमाण्डु, २५ साउन-राहदानी विभागले पहिलोपटक लिङ्गको महलमा ‘ओ’ अर्थात् अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ ।
विभागले सोमबार तेस्रोलिङ्गी मनोज शाही ‘मोनिका’लाई लिङ्गको महलमा ‘ओ’ उल्लेख एमआरपी राहदानी दिएको हो ।
विभागका महानिर्देशक लोकबहादुर थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी, अन्तरलिङ्गीलाई नागरिकतामा उल्लेख गरिएको पहिचानअनुसार नै राहदानी वितरण गरेको बताए ।
कैलाली टीकापुरकी तेस्रोलिङ्गी मोनिकाले ‘ओ’ उल्लेख गरी राहदानी पाएकामा खुसी व्यक्त गरे ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवम् पूर्वसभासद् सुनिलबाबु पन्तले पहिचानअनुसार राहदानी दिएर सरकारले नागरिकप्रतिको दायित्व निर्वाह गरेको बताए ।
नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले लामो सङ्घर्षपछि पहिचानअनुसारको राहदानी पाउन थालेकामा गर्व महसुस भएको उनको भनाई थियो ।