गृहपृष्ठ » मुख्य समाचारएलडिओ अत्तरीया नपुग्दै हराउछन कर्मचारीहरु

एलडिओ अत्तरीया नपुग्दै हराउछन कर्मचारीहरु

April 19, 2016९७ पटक

भूमिराज जोशी  बैशाख ७ डोटी
गत चैत्र १९ गते डोटीका स्थानीय बिकास अधिकारी बासुदेव रेग्मी बिदामा गए । उनी बिदामा गएपछि कार्यालयका अन्य फाँटवाला पनि उनीसंगै हराए ।
यो घटना डोटी जिल्ला बिकास समितिका लागि नौलो भने होईन । स्थानीय बिकास अधिकारी बिदामा जाँदा होस् वा काजमा जाँदा फाँटवाला पनि हराउने गर्छन । फाँटमा कर्मचारी नभएपछि सेवाग्राहीहरु आफ्नो कामको लागि प्रत्येक दिन जिल्ला बिकास समितिमा आएर काम नहुदै फर्किने गरेका छन् ।
कार्यालयका प्रत्येक फाँटहरु बन्द देखेर फर्किनु परेको स्थानीय भरत बोहरा बताउछन् । उनी भन्छन ‘तीन चार दिन लगातार जिल्ला बिकास समितिको कार्यालयमा जाँदा कर्मचारीहरुलाई नभेटेरै फर्किए । स्थानीय अधिकारी भएपछि मात्रै हामीले जिल्ला बिकास समितिवाट सेवा पाउने हो त ?’
कार्यालयको मुल ढोका खुला भएपनि भित्रका बिभिन्न फाँटहरु बन्द हुने गरेको एकजना कर्मचारी बताउछन । उनी भन्छन ‘सेवाग्राहीहरु आफ्ना कामहरु गर्न कार्यालयमा आउँछन, यहाँ सबै फाँटहरु बन्द देखेपछि पर्किने गर्छन, कोही कोही त रिसाएर गाली गर्छन, अनि आफूले नम्रताका साथ दुई÷चार दिन पछि आउनुहुन्छ भन्दै सम्झाएर फर्काउनु पर्ने अवस्था आउँछ ।’
कर्मचारीहरुको हाजिरी हेर्दा योजना शाखामा कमल हमाल गत चैत्र २५ गते गएर बैशाख २ गते मात्र कार्यालयमा हाजिरी भएका छन । यसैगरी दीपक जोशी पनि चैत्र २८ गते गएर बैशाख २ गते कार्यालयमा उपस्थित भएका छन ।
लेखा फाँटका लेखा अधिकृत डिल्लीराज भट्ट भने चैत २५ गते देखि बिदामा गएर आएका छैनन् । सेवाग्राहीहरु काम हुन्छकी भनेर आशा बोक्दै आउने र काम नभएरै फिर्ता हुदै गरेका छन ।
आलेपाका अमर खड्का भने अरु भन्दा फरक छन । बिदामा पनि नजाने, कार्यालयमा पनि कम उपस्थित नहुने । तीन दिनसम्म लगातार जिबिसको कार्यालयमा जाँदा उनी देखिएनन् । उनको आलेप फाँटमा पनि कोही भेटिएनन् । तर, उनको हाजिरी भने दुरुस्तै छ ।
त्यसो त जिल्ला बिकास समिति डोटीमा हाजिर लाउनका लागि मात्र जाने कर्मचारीहरु पनि छन । उनीहरु जिल्ला बिकास समितिका कर्मचारी हुन तर काम गर्नका लागि होईनन् हाजिर लाएर व्यक्तिगत पेशा व्यवसायमा जाने र महिना पुरा भएपछि तलव बुझ्न आउने गर्छन । करीव दुई वर्ष अगाडी त्यस्ता कर्मचारीहरुको बिषयमा व्यंग्य गर्दै तत्कालीन स्थानीय बिकास अधिकारी जगन्नाथ पन्तले भनेका थिए ‘अव घरमै गएर तलव बुझाईदिनु पर्ने कर्मचारी कति र कार्यालयमा आएर तलव बुझ्ने कर्मचारी कति भनेर छुट्टाछुट्टै सूची वनाउँदैछु ।’
आफु बाहिर जाँदा कार्यालय रित्तो हुने गरेको स्वीकार्छन स्थानीय बिकास अधिकारी रेग्मी । उनी भन्छन् ‘म कैलालीको अत्तरीया पुगेको हुँदैन कर्मचारीहरु पनि आ–आफ्ना फाँटहरु बन्द गरेर बाहिर जाने गर्छन । रेग्मीले भने ‘मैले धेरै प्रयास गरेँ, म बाहिर हुँदा मलाई फोन आउँछ तपाँईको कर्मचारी खोइ ? भनेर, म कार्यालय मै छन भन्छु । अब त बैठक नै बस्नुपर्ने भएको छ ।’ आफु फर्केर आउन लागेको जानकारी पाउने बित्तिकै फेरी कर्मचारीहरु कार्यालयमा हाजिर भईसक्ने गरेको रेग्मीको भनाई छ ।

फोटो क्याप्सनः भूमिराज जोशी ÷जिल्ला बिकास समिति डोटीको कार्यालय,

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण