शुक्रबार हुने शुभकामना साँझको लागि तक्मे बूढो यूएईमा,अन्य कलाकार क्रमश: आउँदै
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल ऐन यूएईले आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना साँझ’मा सहभागी हुन चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बूढो) यूएई आइपुगेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको भूकम्प पीडित एक बिद्यालयको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमका लागि कलाकार राईका अलावा गायक प्रमोद खरेल ,गायिका साहिमा श्रेष्ठ ,शान्ति श्री परियार ,याम थापा मगर र नृत्य निर्देशक प्रकाश भट्टको पनि प्रस्तुति रहनेछ ।
कलाकार राईलाई स्वागत गर्न आयोजक समितिका अध्यक्ष मीन नेपाली लगायतको टोलि आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । सो क्रममा निजि कामको सिलसिलामा केही दिन पहिले नै यूएई आइपुगेका नृत्य निर्देशक भट्टलाई पनि आयोजकको तर्फबाट औपचारिक स्वागत गरिएको थियो ।
२२ तारिख शुक्रबार अल ऐन स्थित ५ स्टार पार्टी हलमा सम्पन्न हुने उक्त कार्यक्रमको लागि बाँकी कलाकार भरे बेलुका आइपुग्ने कार्यक्रम संयोजक मणि लामाले बताउनुभयो । साथै उहाँले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै यूएईबासी नेपालीलाई उपस्थित भएर कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन अनुरोध गर्नुभयो ।