गृहपृष्ठ » राजनीतिवैद्य–प्रचण्ड एउटै मञ्चमा उभिएर भने एकता अनिवार्य

वैद्य–प्रचण्ड एउटै मञ्चमा उभिएर भने एकता अनिवार्य

April 23, 2016११३ पटक

कपिलवस्तु । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको श्रद्धाञ्जली सभामा उपस्थित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले एउटै मञ्चबाट पार्टी एकतामा जोड दिएका छन् ।

आचार्यको निधन भएको नवौं दिनमा नेकपा क्रान्तिकारी माओवादी अवध राज्य समितिले शनिबार कपिलवस्तुको भृकुटीनगर– ६ गेलबजार स्थित आचार्यकै निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै दुवै माओवादी नेतृत्वले एकतामा जोड दिएका हुन् ।

लामो समयपछि एउटै मञ्चमा देखिएका दुई नेता प्रचण्ड र वैद्यले गम्भीर मुद्रामा थिए । श्रद्धाञ्जली सभाको प्रमुख अतिथि वैद्य थिए भने प्रचण्डलाई विशेष अतिथि बनाइएको थियो ।

खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देशः प्रचण्ड

नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यको कपिलवस्तुस्थित ससुराली घरमै पुगेर प्रचण्डले खुबीरामको श्रद्धाञ्जलीले एकताको सन्देश दिएको उल्लेख गरे । ‘किरणजी यहिँ हुनुहुन्छ,’ प्रचण्डले भने, ‘हामी क्रान्तिकारी कम्युनिष्टहरु एक हुनैपर्छ ।’

आर्थिक क्रान्ति अहिलेको आवश्यकता भन्दै प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि पनि क्रान्तिकारीहरु एकतावद्ध हुनुपर्ने बताए । कम्युनिष्टहरु एकतावद्ध हुँदा मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा उनले जोड दिए ।

क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छः वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि माओवादी एकतामा जोड दिए । उनले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकता हुनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । आफू एकताको विरोधी नभएको तर सिद्धान्तनिष्ट एकता गरिनुपर्ने वैद्यले औंल्याए ।

मोहन वैद्य पत्नी सुष्मा वैद्यका पितासमेत रहेको माओवादी केन्द्रीय सल्लाहकार खुबीराम आचार्यको गत शुक्रबार निधन भएको थियो । जयतु संस्कृतम आन्दोलनका अग्रणी आचार्यले सोही आन्दोलनका कारण झण्डै दुई वर्ष बंगलादेशमा निर्वासित जीवन विताएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण