गृहपृष्ठ » मुख्य समाचारविनाशकारी भूकम्पको एक वर्ष पुरा, नेपालीका लागि कालो दिन बन्यो वैशाख १२

विनाशकारी भूकम्पको एक वर्ष पुरा, नेपालीका लागि कालो दिन बन्यो वैशाख १२

April 24, 2016१५८ पटक

बैशाख १२ –

विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए ।मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो ।

बैसाख १२ को महाभूकम्पले अविष्मरणीय चोट पुर्यायो  नेपालीलार्इ ।यसबाट करिब८ हजार ९ सय ५२ जनाले ज्यान गुमाए । त्यस्तै २२ हजार ३०२ जना घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए ।

लाखौं नागरिक विस्थापित भएका छन् । धेरै घर, सरकारी कार्यालय, मठमन्दिर तथा ऐतिहासिक सम्पदा र धरोहर भत्किएका छन् । भूकम्पले ३१ जिल्लाका नागरिक प्रभावित भए । क्षतिका आधारमा १४ जिल्ला बढी प्रभावित भएका छन् । १७ जिल्लामा सामान्य प्रभाव र ३५ जिल्लामा थोरै प्रभाव देखियो ।

यसबिचमा सरकारले धेरै योजना बनाएपनि भूकम्प पीडितको अवस्था उस्तै छ । सरकारको प्रतिबद्धता अनुसार काम हुन नसक्दा भूकम्प पीडितले आश र त्रासमै एक वर्ष बिताएका छन् । भूकम्प गएको गएको १ वर्ष पुगेको सम्झनामा सरकारले आज पुनर्निर्माणका विभिन्न कामको शुभारम्भ गर्दैछ ।

गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो ।त्यसपछिका फेरि अर्को भूकम्प र त्यसका परकम्पहरु आउने क्रम जारी नै छ । अाज वर्षदिन बित्याे । महाभूकम्पको पीडा र मनोवैज्ञानिक त्रास छँदैछ । अहिले जीवनयापन सामान्य बन्दै गइरहेको छ । भूकम्पबाट क्षति भएकाहरु भने अझै पुनस्थापित हुन सकेका छैनन् । सरकारले पुननिर्माण अभियान चलाएको छ तर चित्त बुझ्दो काम छैन । फेरि उही मितिमा अाज महाभूकम्पकाे सम्झनाले झस्काएको छ ।

‘गोरखा भूकम्प’ गएको आज एक वर्ष पुगेको छ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रेक्टर स्केल र त्यसभन्दामाथिका चार सय ४९ परकम्पन गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भू–गर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ । पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले छ जनामा सीमित छ । वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ । “नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,”–अधिकारीले भने ।

देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् । भूगर्भ्िवद् डा.सोमनाथ सापकोटाले भू–गर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताए । नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो ।

विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रिक्टर स्केलको गएको थियो । हालसम्म संसारमा ९ रिक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् ।

भूगर्भ्वद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ ।

सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

महाविपत्तिबाट परेको प्रभावको सामना गर्न राहत, पुनःनिर्माण र पुनःस्थापनालाई अघि बढाउन २०७२ वैशाख ३० गते संसदले संकल्प प्रस्ताव हुँदै ऐन बनाइ काम सुरु गरिएको छ । तर काम भन्दा कुरा वढि भएको भूकम्प प्रभावितको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण