विप्लवको डरले उजुरीकर्ता बेपत्ता
काठमाडौ, १३ बैशाख
सशस्त्र क्रान्ति गर्ने भन्दै बर्षदिन अघिदेखि वैद्य माओवादीबाट पार्टी बिभाजन गरी अलग भएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको चन्दा आतंक बढेर गएको गुनासो सर्वत्र हुन थालेको छ । आफूले तोकेको चन्दा नदिए कारवाही गर्ने समेत चेतावनी दिएपछि व्यापारी तथा बिभिन्न संघ संस्थामा विप्लव माओवादीको त्रास बढेर गएको हो ।
जर्बजस्ती चन्दा असुलीको आरोपमा प्रहरीले २०७३ बैषाख १२ गते आइतबार विप्लव माओवादीका दुई नेतालाई पक्राउ गरेपनि चेतावनीको भरमा छाडेको छ । बौद्ध शिक्षा सम्वन्धी प्रशिक्षण दिने पुरानो बानेश्वरमा रहेको निचिरेन सुसो इस्प्रिच्युयल अर्गनाईजेशन नेपाल नामक संस्थाबाट १० लाख मागेपछि दिन नसक्ने बताएसंगै संस्थामा ताला समेत लगाइदिएपछि प्रहरीले केन्द्रीय सदस्य माइला लामा र चिरञ्जीवी ढकाललाई पक्राउ गरेको थियो । तर विप्लवको डरले कसैले पनि लिखित उजुरी नदिएको आजको साँघु साप्ताहिकले समाचार लेखेको छ ।