बैशाख १३, अर्घाखाँची । घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान अर्घाखाँचीको धातीबाङ गाविसमा एक महिलाको मृत्यु भएको छ।

धातीबाङ–९, दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ वर्षीय मखमली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

आगलागीबाट महिलाको मृत्यु भएको र आगो नियन्त्रणमा नआएकाले आफूसहितको टोली घटनास्थलतर्फ जान लागेको उनले बताए । आगलागीले दुई घर र पाँच गोठ जलेर नष्ट भएका छन् भने आइतबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

स्थानीयवासी बालसिंह सारुको घर, गोठ, लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु एक लाख ३० हजार नगदसमेत जलेर नष्ट भएको छ। तुलबहादुर सारुको घर गोठ जल्दा लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु ७२ हजार नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अन्य स्थानीयवासीका तीन गोठ जलेका छन्। वडा नं ७ र ९ को करिब २५० हेक्टर जङ्गलमा आगो लागिसकेको छ। स्थानीय र प्रहरी चौकी टोली आगो नियन्त्रणका लागि लागिपरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन।