परकम्पमा भाग्न खोजेका सभासदलाई सभाध्यक्षले भने, बस्नुस् माननीय सदस्य, बस्नुस्

काठमाडौं: मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस गरियो। काठमाडौंको कालीमाटी केन्द्रविन्दू रहेर गएको ४.३ म्याग्निच्युटको परकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिाकरीले बताएका छन्।
कालीमाटी नै केन्द्रविन्दू भएकोले काठमाडौंमा भूकम्पको धक्का राम्रैसँग महसुस गरियो। स्कूल, कलेजका विद्यार्थीहरु बाहिर निस्के। सर्वसाधरणहरु पनि हतार हतार सडकमा निस्किए।
यता परकम्प गएकोबेला संविधान सभाको बैठक चलिरहेको थियो। सभासदहरु सुझाव प्रतिवेदन माथिको छलफलमा सहभागी भइरहेका थिए।बैठकमा सभासदले बोलिरहेका बेला परकम्प आएपछि सभासदहरु भाग्नका लागि जर्याकजुरुक सीटबाट उठे र बाहिर भाग्न खोजे।
सभाको अध्यक्षता गरिरहेका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले सभासदहरुलाई रोक्दै ‘बस्नुस् माननीय सदस्य, बस्नुस्’ भनिरहे। केही सेकेण्डपछि भूकम्पको परकम्प रोकियो। सभासदहरु आफ्नो सीटमा बसे।