गृहपृष्ठ » अार्थिक, समचारबाराका सहकारीकर्मीहरु आदर्श सञ्चारमा

बाराका सहकारीकर्मीहरु आदर्श सञ्चारमा

April 28, 2016११७ पटक

सिर्जना पन्त
बागलुङ, १६ बैशाख ।  सूचना र सञ्चारको संस्थागत विकाससंगै सहकारी तथा पत्रकारिताका क्षेत्रमा विविध कार्य गर्दै आएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ र बारा जिल्लाका सहकारी अभियानकर्मीहरुबीच बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाराबाट सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा बागलुङ आएका सहकारीकर्मीहरुको स्वागतमा आदर्श सञ्चारले आयोजना गरेको कार्यक्रममा सहकारी र सञ्चारबीचको सम्बन्ध प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको थियो ।
धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित भई सहकारीको पुर्ण व्यवस्थापनमा सञ्चारमाध्यम सञ्चालन गरेको आदर्श सञ्चार सहकारीबाट बाराका सहकारीकर्मीहरुलाई सञ्चार क्षेत्रमा लाग्न प्रेरणा मिलेको टोलीका सहभागीहरुले बताएका थिए ।
बारामा २ वटा सञ्चार सहकारी छन्, त्यस मध्ये एउटा निष्क्रिय छ, अर्कोले भर्खर काम शुरु गरेको छ, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलले भन्नुभयो—‘आदर्श सञ्चारले गरेका कामबाट बारामा सञ्चार सहकारीको विकास गर्न सहज हुनेछ ।’ उहाँले बाराको समग्र सहकारी अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।
भ्रमण टोलीमा सहभागी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका सञ्चालक कृष्ण पौडेलले सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारीका सकारात्मक पक्षहरुलाई आम जनताका बीचमा पु¥याउन सञ्चार सहकारीको भूमिका प्रभावकारी हुने धारणा राख्नु भयो ।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले धौलागिरिको सहकारी अभियानलाई गति दिन तथा सहकारीका सकारात्मक पक्षलाई प्रभावकारी ढंगले बाहिर ल्याउनका लागि आदर्श सञ्चार सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थाको समग्र अवस्था र आगामी कार्ययोजना लगायतका विषयमा सम्पादक एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो ।
आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै बचत तथा ऋण सहित सहकारीका विभिन्न पक्षमा काम गर्दै आएको छ । ८ सय ५० जना शेयर सदस्य रहेको संस्थामा २ करोड १५ लाख शेयर रकम, ५ करोड निक्षेप, ८ करोड लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण