गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारस्वास्थ्य चौकी निर्माणको विवाद मिल्यो

स्वास्थ्य चौकी निर्माणको विवाद मिल्यो

April 28, 2016१७४ पटक

उज्यालो लाल्टिन

बागलुङ, १६ बैशाख । धम्जा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको विषयमा राजनैतिक दलहरु विच रहेको विवाद अन्त्य भएको छ । हाल स्वास्थ्य चौकी रहेको धम्जा ५ देउरालीमा स्वास्थ्य चौकी नै रहने र धम्जा ३ सायकटेरामा नयाँ भवन र इकाइ रहने गरि निर्णय भएको धम्जा ८ का स्थानिय बाबुराम भण्डारीले जानकारी दिए । स्थानीय राजनैतिक दल, स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडा नागरिक मञ्चका प्रतिनिधि, स्थानिय वासिन्दाहरु सहितको भेलाले धम्जा ३ मा नयाँ भवन निर्माण गर्ने र इकाइ राख्ने गरि सहमति गरेका छन् ।
गाविस सचिव एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देव कुमार मण्डलको अध्यक्षतामा बसेको भेलामा नेपाली कांग्रेस धम्जा गाउँ कार्य समितिका सभापति महेन्द्र खड्का, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष याम बहादुर श्रीस, एनेकपा माओवादीका तर्फबाट नैनाकलि खड्का, राष्ट्रिय जनमोर्चाका पुर्ण बहादुर थापा, नेकपा–माओवादीका होम बहादुर दर्जिको विशेष उपस्थिति रहेको थियो ।
पटक–पटक गाउँमा बैठक बसेर सहमति गर्ने नसकेपछि बागलुङ बजारमा बैठक बसिएको थियो ।
उक्त बैठकमा धम्जा गाविसका स्थानीयहरुले राजनैतिक दलहरुले आफ्नो स्वार्थको लागि जनता लडाउने काम गरेको आरोप लगाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले भवन निर्माणको लागि २ करोड रुपैयाँ दिने पक्का भएपछि स्वास्थ्य चौकीको भवनलाई हाल रहेकै स्थानमा निर्माण गर्ने की धम्जा गाविस–३ सायकटेरामा निर्माण गर्ने भन्ने विषयमा विवाद रहदै आएको थियो ।
कांग्रेस, एमाले र एमाओवादीले बस्तीको विचमा रहेको धम्जा गाविस–३ स्थित सायकटेरामा निर्माण गर्ने सहमति गरेपनि राष्ट्रिय जनमोर्चाले पुरानै स्थानमा स्थापना गर्नुपर्ने अडान लिएपछि स्वास्थ्य चौकीको विवाद थप जटिल बन्दै गएको थियो ।
राजनैतिक दलहरुको खिचतानीका कारण निराश रहेका स्थानीय बासिहरुको पहलमा उक्त निर्णय भएको हो । पहिले आफ्नो अडानमा अडिग रहेका राजनैतिक दलहरु अन्तत स्थानीयहरुको जनचाहना अनुसार उक्त निर्णय मान्न सहमति जनाएका छन् । उक्त भवन बन्ने पक्का जस्तै भएपछि अहिले स्थानीयबासिहरुमा खुसि छाएको छ ।
स्थानीय बासिन्दाहरुको पहलमा भवन निर्माणको लागि धम्जा ३ सायकटेरामा १० लाख मुल्य बराबरको ४ आना जग्गा खरिद गरिसकेको धम्जा ९ का बम बहादुर खड्काले जानकारी दिए । उनका अनुसार १० लाख रकम स्थानीयहरुबाट संकलन गरिनेछ ।
चालु आर्थिक वर्ष भित्रै काम थालेर पक्की, भूकम्प प्रतिरोधी र सबै प्रकारका सेवा सुविधा पाइने गरी स्वास्थ्य चौकी निर्माणको कामको लागि उक्त बजेटको खोजी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण