गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रदेशको सीमाङ्कनका सम्बन्धमा जनभावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने नेताहरुको प्रतिबद्धता ।।

प्रदेशको सीमाङ्कनका सम्बन्धमा जनभावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने नेताहरुको प्रतिबद्धता ।।

August 11, 2015१६४ पटक

२६ साउन, काठमाण्डौ ।।
प्रमुख चार दलका शीर्ष नेताहरुले प्रदेशको सीमाङ्कनका सम्बन्धमा जनभावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रतिबद्धता जनाएका छन ।
संविधानसभामा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट जनताका नाममा अपिल जारी गर्दै शिर्ष नेताहरले प्रदेशको सीमाङ्कनको विषयलाई लिएर मध्यपश्चिमको सुर्खेतमा भएको अप्रिय घटनाले चिन्तित र गम्भीर तुल्याएको बताएका हुन ।
चार दलका शीर्ष नेताद्वारा अपिल सार्वजनिकका क्रममा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले नेपालको सन्दर्भमा सङ्घीयता नयाँ विषय भएकाले जनताबाट विविध प्रतिक्रिया आउनु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले जनताका भावना र राष्ट्रिय हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले सम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझावद्वारा सहयोग पु¥याई समस्याको समाधानको प्रतीक्षा गर्न आग्रह गर्नुभयो ।
इतिहासमा पहिलोपटक नेपाली जनताका चाहनाअनुसार संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री कोइरालाले यसलाई सफल पार्न सबैलाई एकजुट हुन आह्वान पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आफैँले आफ्नो संविधान निर्माण गर्ने आकाङ्क्क्षा र प्रयास सफलताको बिन्दुमा पुग्न लागेको बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताले आफ्नो संविधान आफँैले बनाउने २००७ सालदेखिको सपना पूरा हुनै लाग्दा एकपटक फेरि त्यसमा खतरा उत्पन्न भएकोले त्यसप्रति सबै सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो ।
संविधानसभाबाट संविधान बन्ने प्रक्रिया कुनै पनि हालतमा नरोकिने विश्वास भन्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान बन्न नदिने तत्वले फाइदा लिने भएकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सम्मेलनमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख दलहरुले लामो रस्साकस्सीपछि आफ्ना केही असहमति हुँदाहँुदै पनि जनताको आफ्नो संविधान आफँै बनाउने अधिकार स्थापित गर्न सहमति गरी मस्यौदा ल्याएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा संवाद समितिका सभापति तथा एमाओवादीका नेता डा बाबुराम भट्टराईले सीमाङ्कनका सम्बन्धमा देखिएका जनताका असहमति तथा प्रतिक्रियालाई सम्बोधन गर्न प्रमुख चार दलका तर्फबाट अपिल आएको बताउँदै यस कार्यमा सहयोग गर्न सञ्चार क्षेत्रसँग आग्रह गर्नुभयो । पत्रकार सम्मेलनअघि संवाद समितिका सभापतिको संयोजकत्वको चार शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण