म्याग्दीमा हराएका २४ जना अझै बेखबर
२६ साउन, म्याग्दी
म्याग्दीमा बिगत दुई वर्षको अवधिमा विभिन्न कारणले हराएकामध्ये २४ जना अझैसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यसरी हराउनेमा सबैभन्दा बढी महिला रहेका छन् । हराएका सबैलाई प्रहरीले वेपत्ताको सूचीमा राखेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई वर्षमा ७८ जना हराएको भन्दै उजुरी परेको थियो । खोजतलासका क्रममा ५४ जना भेटिएका छन भने २४ जना अझै बेखबर छन् । हराईरहेका मानिसमा १२ जना महिला छन् । अरु पुरुष र बालबालिका छन् । आर्थिक वर्ष २०७०७१ मा २७ जना महिला, ७ जना पुरुष, ६ जना बालक र दुई जना बालिका हराएको प्रहरीमा उजुरी परेको थियो ।
सो वर्ष हराएका मध्य ७ जना पुरुष, २१ जना महिला, दुई जना बालक र एक जना बालिका भेटिएका थिए । आर्थिक वर्ष २०७१७२ मा १३ जना पुरुष, ११ जना महिला, ७ जना बालक र ५ जना बालिका हराएको निवेदन परेकोमा ९ जना पुरुष, ५ जना महिला, ५ जना बालक र ४ जना बालिका फेला परेका छन् ।
प्रहरीले खोजतलास गर्दा पनि फेला नपरेका मानिसलाई वेपत्ताको सूचीमा राखेर खोजीका लागि हुलिया सबै जिल्लामा पठाउने गरेको छ । आफन्त हराए भनेर सूचना दिनेले भेटिएको जानकारी नगराउने हुँदा उनिहरु वेपत्ताकै सूचिमा रहने गरेका प्रहरी निरिक्षक बिमलकुमार उपाध्यायले बताउनुभयो । धेरैजसो हराएका बयस्क महिला पुरुषहरु दोस्रो बिवाह गरेको अवस्थामा भेटिने गरेका छन् । घरपरिवारलाई जानकारी नदिई महिलाहरु गैरकानुनी ढङ्गले बैदेशिक रोजगारीमा जाने हुँदा पनि महिला हराएको धेरै उजुरी पर्ने गरेका छन् ।
बेरोजगारी समस्या, जनचेतना र शिक्षाको कमीका कारणले महिलाहरु हराउने समस्या देखिएको छ । घरपरिवारको गरिबी तथा वेवास्ताका कारण बालबालिका हराएर गलत मानिसको फेला परी कुलतमा फस्ने, दुख पाउने, यौन हिंसामा पर्ने गरेका प्रहरी नायव उपरिक्षक हिरा गिरीले बताउनुभयो ।
बिशेष गरेर किशोर किशोरीहरु परिवारलाई जानकारीनै नदिई वेपत्ता हुने, मापसे र लागु औषध दुव्र्यसनीमा फस्ने गरेको पाएपछि प्रहरीले अभिभावकलाई सचेत गराउनुका साथै विद्यालय तथा उच्च माविमा चेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।