गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, स्वास्थ्यदेशमा यस्ता पनि प्रहरी छन्, जसले आफ्नो सबै तलबभत्ता समाजसेवामा खर्चन्छन्

देशमा यस्ता पनि प्रहरी छन्, जसले आफ्नो सबै तलबभत्ता समाजसेवामा खर्चन्छन्

August 11, 2015६८२ पटक

प्रेम सुनार

गुल्मी,  साउन २६ – प्रहरी जवान दीपक थापा, प्रहरी सेवामा प्रवेश गरेको १२ वर्ष भयो । थापाले आफ्नो तलबभत्ता समाजसेवामा खर्च गर्दै आएका छन् । थापा जहाँ सुरुवा हुन्छन्, आफ्नो तलब–भत्ता त्यहीँको समाजसेवामा खर्चन्छन् । थापा धार्मिक प्रवृत्तिका छन्, पूजापाठ गर्छन्, माछामासु खाँदैनन् । यतिमात्रै होइन, जीवनभर ब्रह्माचारी बस्ने प्रण नै गरेका छन् । आध्यात्मिक सोचका अविवाहित थापा अहिले २८ वर्षका भए । उनी बुटवल उपमहानगरपालिका–१६ पदमपुरमा ७ मंसिर ०४२ मा जन्मेका हुन् ।

थापा ५ पुस ०६१ मा बुटवल तालिम केन्द्रबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । तालिम सकेर अञ्चल प्रहरी कार्यालय भैरहवामा खटिए । फेरि बुटवल तालिम केन्द्र फर्के, डिएसपीको सुरक्षा गार्डमा । त्यसपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पाँच वर्षसम्म बसे । त्यहाँ छँदा पनि उनी जिल्ला अस्पतालमा खटिए ।

थापा ०६७ सालमा नवलपरासीबाट सरुवा भएर गुल्मी आएका हुन् । थापा गुल्मीबाट हालै कपिलवस्तुको सुन्दरीडाँडा ईलाका प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

prem-sunar-news

 

 

 

 

 

 

 

 

चार वर्ष थापाले आफ्नो कर्तव्य मात्रै निभाएनन्, समाजसेवामा पनि उत्तिकै ध्यान दिए । प्रथम गुल्मी महोत्सवलाई २० हजार चन्दा दिए भने पर्यटन वर्ष–२०११ मनाउन १० हजार सहयोग गरे । नेपाल पत्रकार महासंघ गुल्मीको भवन निर्माणका लागि १० हजार उपलब्ध गराए । गायन प्रतिभा छनोट कार्यक्रम गुल्मी तारा–०७१ लाई पनि रकम सहयोग गरे । प्रथम गुल्मी ताराका लागि भनेर पाँच हजार, दोस्रोका लागि तीन हजार र तेस्रोका लागि दुई हजार रुपैयाँ सहयोग गरे ।

गुल्मी जिल्ला अस्पतालमा उनको ड्युटी थियो । कतिपय बिरामीलाई अस्पतालले तानसेन रिफर गथ्र्यो । कतिपय बिरामीसँग खर्च हुँदैनथ्यो, थापाले थुप्रैलाई आफूले सकेको आर्थिक सहयोग गरे । अस्पतालमा आर्थिक अभाव हुन पुगेका बिरामीलाई औषधि पनि किनिदिन्थे ।

जिल्ला अस्पतालबाट उनलाई गुल्मीकै नयाँगाउँ प्रहरी चौकीमा सरुवा गरियो । प्रहरी चौकीको प्रांगणमा बन्दै गरेको मन्दिर रकम अभावमा रोकिएको थियो । मन्दिर निर्माणका लागि उनले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरे । त्यस्तै, पाँच हजार रुपैयाँ खर्चेर चौकीमा डिसहोम केबुल जडान गरे । नयाँगाउँ उच्च माध्यामिक विद्यालय विकासका लागि २५ हजार रुपैयाँ सहयोग गरे । सोही विद्यालयमा उनले आफ्नै नाममा १० हजार रुपैयाँको दीपक थापा अनुशासन वर्ष पुरस्कारको स्थापना पनि गरी दिएका छन् ।

त्यस्तै, गणेश माध्यामिक विद्यालय पिपलधारामा ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरिदिए । त्यति नै धनराशिको अक्षय कोष पिपलधाराकै ज्ञानोदय माध्यमिक विद्यालय, सोमरभोमर माध्यामिक विद्यालय हाडहाडे र छिमेकी जिल्ला अर्घाखाँचीको खनदह उच्च माध्यामिक विद्यालयलाई पनि कोष स्थापना गरी दिएका छन् ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा उनले नयाँगाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि २० हजार सहयोग गरे । पिपलधारामा एम्बुलेन्स सञ्चालनका लागि १५ हजार ५१ रुपैयाँ सहयोग गरे । यसबाहेक नयाँगाउँ आर्थिक अभावका कारण उपचार पाउन नसकेका र भोकानांगालाई सेवा गरेको उल्लेख गरी साध्य छैन ।

थापाले गत १२ वैशाखको भूकम्पबाट पीडितलाई एकमुष्ठ डेढ लाख रुपैयाँ सहयोग गरे । थापाले प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैयाँ पठाए । त्यस्तै, थापाले काठमाडौंका तीनवटा वृद्धाआश्रमका लागि तीन लाख सहयोग गरेका छन् ।

थापा भन्छन्, ‘१२ वर्ष भयो जागिर खाएको । आफूलाई सामान्य खर्च राख्छु । मैले तडकभडकमा खर्च गर्दिनँ । बाँकी सबै समाजसेवामा दिन्छु ।’

थापाको घरखर्च कसरी चलेको होला त ? उनी भन्छन्, ‘बुवाले २० वर्षसम्म भारतमा बैंकको जागिर गर्नुभयो । पेन्सन आउँछ । बुटवलमा पाँचतले पक्की घर छ । तीनतला भाडामा दिएका छौं । अलिअलि जमिन पनि छ, अरुलाई कमाउन दिएका छौँ । मैले ब्रह्माचारी बस्ने प्रण गरेको छु, त्यसैले परिवार वा भोलिका कमाउनु पनि छैन ।’

थापा सामान्य पहिरनमा हिँड्छन् । नियमित मन्दिरमा पूजा गर्ने र रातो टीका लगाउने गर्छन् ।

सम्पत्ति नकमाउने, सन्त बन्ने भन्ने तर प्रहरीको जागिरमा यत्तिका मोह किन ? सन्त बन्न त प्रहरीको जागिर छाडे हुँदैन ? उनको जवाफ छ, ‘प्रहरी पनि सन्त बन्न सक्छ, प्रहरी भएरै पनि समाज सेवा गर्न सकिन्छ । के ब्रह्मचारी बन्न प्रहरीको जागिर छाड्नैपर्छ र ? म प्रहरी सेवामै रहेर सत्य बोल्छु, समाजसेवा गर्छु, ब्रह्मचारी बस्छु ।’

थापा एक मात्र छोरा हुन् । छोरो ब्रह्मचारी बन्न लागेको परिवारलाई पनि चिन्ता थियो । उनी भन्छन्, ‘हामी चार भाइ हौँ । तर, तीनभाइ सानैमा खसे । म पनि ब्रह्मचारी बन्ने कुरा सुनेपछि सुरुमा बुवाआमा चिन्तित हुनुहुन्थ्यो, निसन्तान हुनेभयो भनेर । तर, अहिले मेरो समाजसेवा देखेर, शुद्ध व्यवहार देखेर सन्तुष्ट हुनुहुन्छ ।’

थापाबारे निमित्त जिल्ला प्रहरी प्रमुख, प्रहरी निरीक्षक रामप्रसाद पौड्याल भन्छन्, ‘थापाले सामाजिक क्षेत्रमा गरेको काम उदाहरणीय छ । उनी सामान्यतः एउटा प्रहरी जवानभन्दा फरक स्वभावका छन् ।’ थापाले समाजसेवासँगै आफ्नो जिम्मेवारी पनि पूरा गर्छन् । नयाँगाउँ प्रहरी चौकीका इन्चार्ज विश्वराज भुसाल भन्छन्, ‘जवान थापाको ड्युटीमा कुनै गुनासो गर्नुपर्ने भएन । उनले आफ्नो ड्युटी पूरा गर्थे, प्रहरीको आचारसंहिता पनि मान्थे, कुनै पनि अनुशासनहीन काम गरेनन् ।’

थापालाई सोमबार नयाँगाउँ, पिपलधाराका संघ–संस्थाले सम्मानसहित बिदाइ गरे । गुल्मीबाट उनी कपिलवस्तुमा सरुवा भएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण