गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराहदानी दुरुपयोग गर्ने पूर्वसभासदलाई तीन महिना कैद

राहदानी दुरुपयोग गर्ने पूर्वसभासदलाई तीन महिना कैद

August 12, 2015२२१ पटक

काठमाडौं, साउन २६ – विशेष अदालतले संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहले कूटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद गर्ने फैसला गरेको छ ।

पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले पूर्वसभासदलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्वसभासद यादवद्वय र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनी दिइएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वर्षको भदौ २६ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वसभासद शिवपूजनको राहदानीमा केदारनाथ शर्मा भन्ने व्यक्ति अस्ट्रेलिया गएको आरोप लगाइएको थियो । राहदानीमा सभासदको तस्बिर हेरफेर गर्नका लागि देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेका आरोप लगाइएको थियो ।

यस्तै पूर्वसभासद विश्वनाथप्रसाद र गायत्री साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेको व्यक्ति अस्ट्रेलिया गएको भन्ने आरोप लगाइएको थियो । यो मुद्दामा अस्ट्रेलिया गएका छन्त्याललाई एक वर्ष छ महिना कैद गरी  ७५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण