कोरियामा लुकिछिपी बस्नेमध्ये नेपाल दोस्रो स्थानमा
२७ साउन, सउल । अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेष गरी रोजगारी, अध्ययन, बिजनेस र वैवाहिक भिसामा कोरिया आउने गर्छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ८७ नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन् ।
पुरुषको तुलनामा महिला कामदारको संख्या ज्यादै न्यून छ । राजधानी सउलस्थित अध्यागमन विभागको तथ्यांकअनुसार ३० हजार पाँच सय ३५ पुरुष र २ हजार ५२ महिला कोरिया प्रवेश गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष विनोद कुवँरका अनुसार ब्यापारीहरु एक सय हाराहारीमा छन् । नेपाली विद्यार्थी समाज कोरियाका अध्यक्ष बिमल सुवेदीले विद्यार्थी र शिक्षक गरी करिब ६ सय ५० नेपाली रहेको जानकारी दिए । अवैधानिक तवरले लुकिछिपी बस्नेको कुनै तथ्यांक नभए पनि नेपालीहरु दोस्रो रहेको कारोबार दैनिकमा खबर छ ।
सन् २०१५ को जुलाईसम्ममा पुरुष ३ हजार ८ सय पाँच र महिला ३ सय २९ जना कोरिया आएका छन् । ४ वर्ष १० महिनाको कार्यावधि समाप्त गरी कति नेपाली स्वदेश फर्किए भन्ने तथ्यांक नभए पनि ४ हजार जति नेपाल फर्किएको हुन सक्ने नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङ बताउँछन् । ईपीएस अन्तर्गात कोरिया प्रवेश गर्ने १५ मुलुकका आप्रवासी कामदारमध्ये भिसा अवधि सकिएर लुकिछिपी बस्नेमा अहिले नेपाल दोस्रो स्थानमा आएको छ । पहिलोमा बंगलादेश रहेको छ ।