माथेमा आयोगको स्वास्थ्य सुधार प्रतिवेदन कार्यान्वयन भइरहेको स्वास्थ्य मन्त्रीको भनाई ।।
२७ साउन, काठमाण्डौ ।।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले देशको स्वास्थ्य सुधारका लागि विभिन्न काम भइरहेको बताउनुभएको छ । आज आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. केदारभक्त माथेमा संयोजक रहेको समितिले दिएको नेपालको स्वास्थ्य सुधार प्रतिवेदन कार्यन्वयन भइरहेको जानकारी दिनुभयो । उहाँले माथेमा प्रतिवेदनको केहि पक्ष आर्थिक अभावका कारण पुरा गर्न नसके पनि अधिकांश काम जारी रहेको बताउनुभयो । मन्त्री अधिकारीले आफुले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु गरेका कामहरु समेत माथेमा प्रतिवेदनमा आएको भन्दै त्यसलाई कार्यान्वयन गर्न मन्त्रालय मातहातका सबै निकायलाई परिचालित गरेको बताउनुभयो ।
यसैबीच, सरकारले देशभर औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । औषधि ब्यवस्था विभागले आज पत्रकार सम्मेलनको आयोजना गरी ९६ प्रकारका औषधिको मूल्य तोकेको जानकारी दिएको छ । २०३५ सालमा औषधि ऐन आएपछि यो पहिलो पटक मूल्य निर्धारण गरिएको हो । ६ महिनाभित्र देशभरका औषधि पसलहरुलाई मूल्य निर्धाण कार्यान्वयनमा ल्याउन विभागले आग्रह गरेको छ । स्वदेश तथा विदेशमा उत्पादन भएको औषधिको मूल्य समायोजन गरेर बजारमा ल्याउन पनि विभागले आग्रह गरेको छ । कार्यान्वयनमा नल्याए औषधि ऐनको दफा २६ अनुसार कारबाही हुने विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताउनुभयो ।