गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यरुकुम टुक्राउने निर्णयपछि फरक फरक मागसहित प्रदर्शन, जनजीवन कष्टकर

रुकुम टुक्राउने निर्णयपछि फरक फरक मागसहित प्रदर्शन, जनजीवन कष्टकर

August 14, 2015३५२ पटक

Strike-at-Rukumरुकुम, २९ साउन । राजनीतिक दलहरुले ६ प्रदेश सहित प्रारम्भिक सिमांकनको टुंगो लगाएपछि रुकुम यतिबेला आन्दोलनरत छ । अहिलेको प्रस्तावित सीमांकन अनुसार रुकुमका पूर्वी क्षेत्रका गाविसहरु प्रदेश नं. ५ मा र पश्चिम क्षेत्रका गाविस प्रदेश नं. ६ मा पर्ने भएपछि नागरिकहरु फरक फरक आन्दोलनमा होमिएका छन् ।

जिल्लाका नागरिक मुसिकोटमा आम हड्ताल सहित आन्दोलन गर्दै सिंगो रुकुम प्रदेश नं. ५ मा पर्नुपर्ने माग गरिरहेका छन् । उनीहरुको आन्दोलन विगत एक सातादेखि जारी छ । आन्दोलनका कारण मुसिकोटको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगत सोमबारदेखि उद्योग कलकारखाना, शिक्षण संस्था, बजार, यातायातका साधन पूर्णरुपमा ठप्प छन् । जसका कारण जनजीवन विस्तारै कष्टपूर्ण बन्न थालेको छ । व्यावसायीहरु भने स्वःस्फूर्तरुपमा आन्दोलित बनेका छन् । आन्दोलनकारीले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने संकेत देखिएको छ ।

नागरिक तहबाट सञ्चालन गरिएको आन्दोलन थप कडा बन्ने देखिन्छ । आन्दोलनलाई थप कडा बनाउँदै लैजाने रुकुम एकता संघर्ष समितिका संयोजक टेक बहादुर पुन बताउँछन् । उनले शिर्ष राजनीतिक तहमा भएको निर्णय फिर्ता नभए आन्दोलनलाई थप कडा पारिने छ । भोलि मैनबत्ति तथा सिठी जुलुस निकालिने उनले बताए ।

दिनहुँका जुलुसका कारण सदरमुकाम खलंगा एक सातादेखि तनाव ग्रस्त छ । आन्दोलन भने शान्तिपूर्ण तवरमै संचालन भैरहेको एक अधिकारकर्मीले बताए ।

चौरजहारीबासीको फरक आन्दोलन
उता पश्चिम रुकुमको चौरजहारीका नागरिकले भने सिंगो रुकुम प्रदेश नं. ६ मा पर्नुपर्ने र प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने माग सहित आन्दोलन थालनी गरेका छन् । जिल्लाको पायक पर्ने स्थान सुर्खेत भएकोले सिंगो रुकुम सुर्खेतसंगै प्रदेश नं. ६ मा पर्नुपर्ने उनिहरुको धारणा छ ।

विहिबार प्रदर्शनसहित आन्दोलन थालनी गरेका चौरजहारीवासीले शुक्रबार मोटरसाइकल र्याली निकालेर विरोध गरेका छन् । आम हड्ताल सहित थालिएको आन्दोलन आफ्ना माग पूरा नभएसम्म जारी रहने रुकुम उद्योग वाणिज्य संघ शाखा चौरजहारीका सदस्य रिम प्रसाद शर्माले बताए ।

रुकुकोटबासीले अहिलेकै निर्णयप्रति खुशियाली मनाए
रुकुमकोटबासी भने अहिलेकै निर्णयप्रति सन्तुष्ट देखिन्छन् । उच्च स्तरिय राजनैतिक समितिले सिमाङ्कन सम्वन्धि गरेको सहमतिलाई कायम राख्न माग गर्दै रुकुमको रुकुमकोटमा प्रदर्शन गरिएको छ । जिल्लाको पुर्वि क्षेत्रलाई प्रदेश नं. ५ मा राखेको प्रति समर्थन र सहमति जनाउँदै नागरिक समाजको अगुवाईमा रुकुमकोटमा प्रर्दशन गरिएको हो ।

पूर्व र पश्चिम भागमा विभाजन भएको रुकुम जिल्लाको पूर्वी क्षेत्र विगतदेखि नै पछाडी पर्दै आएकाले उच्च स्तरमा गरिएको सहमतिप्रति ऐक्यबद्धता जनाएको उनीहरुको तर्क छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १ लाई नै प्रदेश नं. ५ मा राख्न नागरिक समाजका जीतकुमार शाह माग गर्दछन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ लाई छुट्टै जिल्लाको रुपमा स्थापित गर्दा पुर्वि क्षेत्रको विकास हुने नागरिक समाजका अगुवाईहरुको बुझाई रहेको छ । यसरी सिमांकनमा जिल्लाका नागरिकहरु मिश्रित रुपमा प्रस्तुत भएका छन् ।

मगरको माग– रुकुमलाई स्वायत्त मगर प्रदेश कायम गरियोस्
यता जिल्लाका मगरहरु स्वायत्त मगर प्रदेशको अडानमा सडकमा उत्रिएका छन् । रुकुम मगरहरुको बाहुल्यता भएको जिल्ला भएकोले सिंगै रुकुम स्वायत्त मगर प्रदेशमा कायम गर्न जिल्लाका मगरहरुले माग गरिरहेका छन् । फरक संस्कार, रीतिरिवाज, भेषभुषा भएको मगर समुदायलाई सदिऔंदेखि उत्पीडनमा पारिएको भन्दै अहिले पनि मगरहरुलाई धोका दिन खोजिएको स्वायत्त मगर प्रदेश संघर्ष समितिका संयोजक पहलसिंह घर्तीले आरोप लगाए ।strike-at-Rukum3

‘हाम्रो मगर समुदाय जमानादेखि उत्पीडनमा पारिदैं आइयो,’ उनले भने ‘अब पनि उपेक्षा गर्न खोजिए त्यसको कडा प्रतिवाद हुन्छ ।’ आफुहरु सिंगो रुकुमको पक्षमा रहेको तर स्वायत्त मगर प्रदेश हुनुपर्ने अर्का मगर अधिकारकर्मी शरुण बाँटा बताउछन् ।

‘अहिलेको सिमांकन राजनितिक स्वार्थको उपज भएको उनको बुझाइ छ । रुकुमलाई सन्तुलित रुपमा पुर्वि क्षेत्रलाई प्रदेश नं. ४, पश्चिम क्षेत्रलाई प्रदेश नं. ६ र मध्य क्षेत्रलाई प्रदेश नं. ५ मा पर्नेगरी विभाजन गरिनुपथ्र्याे उनले भने ।’

यसरी यतिबेला रुकुमबासी पनि आफ्ना हक अधिकार संविधानमा समेटन दौडधुप गरिरहेका छन् । सबैका आन्दोलन र संघर्ष रोकिने एउटै उपाय देखिन्छ केन्द्रको पछिल्लो राजनीतिक निर्णयमा परिवर्तन । रुकुम टुक्रिने भएपछि फरक फरक कोणबाट प्रदर्शन उत्रिएको नागरिकको आवाजलाई राजनीतिक नेतृत्वले कसरी सम्बोधन गर्दछन्, त्यो भने हेर्न बाँकी छ ।
Strike-at-Rukum1

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण