खुट्टा त गयो तर छोरा बचाएँ
रसुवा, ३० साउन– वैशाख १२ गते भिरमा घाँस काटिरहेका थिए, हाकु–८, तिरुका लाक्पा सेदा तामाङ । छोराहरु पाँचवर्षे मिङमार र तीनवर्षे विमल पनि त्यहीँ थिए ।
एक्कासि भुइँ हल्लिन थाल्यो । माथिबाट चट्टाने पहिरो ओइरियो । सेदारलाई आफ्नो भन्दा पनि छोराहरुको चिन्ता भयो । पहिरोले छोप्नुअगावै उसले छोराहरुलाई सुरक्षित हुत्याइदिए । तर, आफू उम्कन सकेनन् ।
अहिले पनि कहाली लाग्छ, उनले त्यो क्षण सम्झिए, ‘फेरि पनि संसार देखुँला भन्ने आशै थिएन ।’
खुला चौरमा धकेलिँदा छोराहरु सामान्य घाइते मात्रै भए । सेदार भने कम्मरमुनि पूरै चट्टाने पहिरोले थिचिए । उनी गुहार माग्दै चिच्याए । छोराहरु बाबुको हालत देखेर रुवाबासी गर्न थाले । तर, तत्काल उद्धार गर्न कोही आएन । १५ मिनेटपछि के भयो, उनलाई कुनै होस भएन ।
होउ आउँदन उनले आफूलाई अस्पतालको श्ययामा पाए । एकछिन त उनलाई विश्वासै लागेन । विस्तारै तारैतिर आँखा घुमाए, उज्यालो देखे । जहान–परिवार देखे । आफूभित्रको श्वासप्रश्वास महसुस गरे । त्यत्रो विपत्तिबाट जोगिएकोमा अहोभाग्य ठाने ।
एकछिनमा डाक्टर आए । उनले सोधे, ‘डाक्टर साब मेरो खुट्टा खै त ? ’ ढुंगाले नराम्ररी थिचेकोले तपाईको खुट्टा काट्नै पर्ने भयो । अन्तिमचोटी हेर्नुहुन्छ त आफ्नो खुट्टा ? ’
उनले खुट्टा हेर्न मानेनन् । बरु जीवन बचाइदिएकोमा डाक्टरलाई धन्यवाद दिए । पहिरोले थिचेको एक घण्टा पछि भाइ पेम्बारले उनलाई पहिरोबाट झिकेर घर ल्याएका थिए ।
–नागरिक दैनिकबाट