सबै एक जुट हुन पर्योः प्रधानमन्त्री
३०, साउन
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गर्नुभएको छ ।
पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ शीर्षक कृतिको सरकारी निवास वालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माण पछि मात्र मुलुकको विकास सम्भव भएकोले आन्दोलन नभई वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
उहाले अब आन्दोलन गर्न आवश्यक नरहेको भन्दै मुलुकमा कसरी अमनचयन कायम गर्ने र महिला, जनजाति, दलित, मुस्लिमका हकअधिकारलाई सुनिश्चित गर्ने विषयमा अहिले आफूलागिरहेको पनि उल्लेख गर्नुभयो ।
काँग्रेसको महाधिवेशन आउन लाग्दा पनि आफू संविधान निर्माणका कार्यमा जुटेकाले कुनै पनि तयारी गर्न नसकेको स्वीकार गर्दै महाधिवेशनका लागि चाँडै तयारी समिति गठन गरेर अगाडि बढ्ने प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।