गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारजुम्लामा प्रहरीको गोलीबाट पाँचजनाको अवस्था गम्भीर

जुम्लामा प्रहरीको गोलीबाट पाँचजनाको अवस्था गम्भीर

August 16, 2015२२४ पटक

jumla_ police

जुम्ला, ३१ साउन– सदरमुकामा आज भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १८ जना आन्दोलनकारी घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने १३ जनाको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आन्दोलनमा १० जना प्रहरी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।

आजको प्रर्दशनमा जिल्ला वन कार्यालय, शिक्षा कार्यालय, स्याउ प्रशोधन केन्द्रलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

सुरक्षाको अवस्था जटिल बन्दै गएपछि आज साँझ ५ः३० बजेबाट सदरमुकाम आसपासमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिए ।

विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको माग गर्दै सङ्घर्षमा उत्रेका आन्दोलनकारीले जुम्लाका झन्डै तीन दर्जन सरकारी कार्यालय तोडफोड गरिसकेका छन् ।

आन्दोलनको आठौँ दिनसम्म पनि सरकारले कर्णालीवासीको मागप्रति कुनै चासो नराखेको भन्दै आक्रोशमा आएका आन्दोलनकारीले कर्णाली प्रदेश अङ्कित बोर्ड टाँस्न आह्वान गर्दै विभिन्न सरकारी कार्यालयका साइनबोर्ड तोडफोड गरेका छन् ।

उत्तेजित भीडले जिल्ला प्रहरी कार्यालयको साइनबोर्ड तोडफोड गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न ११ राउन्ड अश्रुग्यास र चार राउन्ड हवाईफायर गरेको थियो । झडपका कारण जिल्लाको अवस्था अहिले पनि तनावग्रस्त छ । झडपमा अन्य के–कति घाइते भए भन्ने यकिन हुन सकेको छैन ।

जिल्लामा शान्ति सुरक्षामा ल्याउन तथा आन्दोलनकारीलाई नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा कुनै पनि अप्रिय घटना हुन संयमता अपनाइएको उनले बताए । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण