गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लगयो पनि नहुने, त्यो पनि नमान्ने तर पनि संघीयता चाहिने!

यो पनि नहुने, त्यो पनि नमान्ने तर पनि संघीयता चाहिने!

August 19, 2015७४३ पटक

दीर्घराज उपाध्याय

 

६ प्रदेशको सिमांकनको खाका सार्वजनिक भएपछि देशमा बिभिन्न खालका आन्दोलन जारी छन्। यद्यपी त्यसअघि पनि आफू अनुकूल र आफूले भने बमोजिमका जिल्ला र क्षेत्रलाई जोडेर प्रदेशको माग गर्दै आन्दोलन नभएका होइनन्। कसैलाई तराईका जिल्ला चाहिएका छन्। कसैलाई पहाडका। कसैलाई हिमाल, पहाड र तराईसँगै जोडिएका। तर आन्दोलन गर्ने अधिकांशले आफ्ना अनुकूलका प्रदेश माग्दा अरुप्रति सहिष्णु व्यवहार देखाएका छैनन्। तराईमा आन्दोलनरत कतिपय जाति र सम्प्रदायले पहाड र पहाडियालाई गाली गरेका छन्, गरिरहेका छन्।
पहाडमा संभावना छ। पहाडमा जल छ। जंगल छ। जडिबुटी छ। सबैथोक छ। तर विकास छैन। ती प्राकृतिक स्रोतको सदुपयोग छैन। र, पहाडमा त्योभन्दा पनि बढि गरिबी छ। अभाव छ। बिकटता छ। पहाडको आफ्नै पीडा छ। पहाडमा बस्नेका आफ्नै बाध्यता र विवशता छन्। फेरि पनि सबैको तारो पहाड बनेको छ। सुदूर पहाड चुप थियो। मौन थियो। उसले कसैप्रति रीस राग, र घृणा कहिले ओकलेन। यतिबेला पनि ओकेलेको छैन, जतिबेला उसलाई लिएर घृणाको राजनीति चुलिएको छ। पहाडले कसको के बिगारेको छ? एउटा भूगोल हो, पहाड। भूगोललाई गाली गरेर ताली त मिल्ला। तर त्यसले पहाडको योभन्दा बढि केही बिग्रिने वाला छैन। गालीले सपार्ने कुरा त झन् हुँदै भएन।
सधैं सत्तामा रहेका मधेशवादी नेताहरु आफू सत्तामा हँुदा मधेशको विकासका लागि त केही गर्दैनन्। बरु सत्ताबाट बाहिरिएकै दिन पहाडले मधेशको विकास हुन दिएन भनेर आरोप लगाउँछन्। पहाडलाई गाली गर्छन्। जो आफंै विकासको पर्खाइमा छ। जो आफंै पछाडि परेको छ, पछाडि पारिएकोे छ। उसैलाई गाली गरेर रमाउने प्रवृति र संस्कार हुर्किएको छ।
धनगढीका कारण कैलालीका अन्य भाग ओझेलमा छन्। यस्तो मान्छन्, अन्य भागका बासिन्दा। महेन्द्रनगरका कारण कञ्चनपुरका अन्य भाग ओझेलमा छन्। कैलाली र कञ्चनपुरका कारण ओझेलमा परेको ठान्छ, सुदूरको पहाड। दीपायल धनगढीलाई दोष दिन्छ। दीपायललाई तोलेनी गाली गर्छ। बाजुराको मार्तडीले दोष दिने धनगढीलाई नै हो। र मार्तडीसँग बेग्रल्ती गुनासा छन्, बिच्छ्या, रुगिन र साप्पटाका। जब नून होइन, टाउकोमा चोट लिएर फर्किन्छन, उनीहरु। मार्तडीलाई सत्तोसराप गर्छन्। केही उदाहरण हुन्, यी त। जो केन्द्रमा छ, त्यो सधै गाली खान्छ। सदरमुकामसँग गाउँका असिमित गुनासा छन्। धनगढी र महेन्द्रनगरका गुनासा छन्, राजधानी काठमाडौंसँग। सुख, सुविधा, अवसर र विकासका आकांक्षीहरु आफूले त्यो नपाएको दोष केन्द्रमा जो छ, त्यसलाई दिन्छन्। यो स्वाभाविक र आम प्रवृति हो।
जब मान्छे विभाजित हुन थाल्छ। तब उसलाई केहीले रोक्दैन। पहिले उसको तारो फरक धर्म र सम्प्रदाय मान्ने मान्छे हुन्छ। त्यसपछि आफ्नै धर्म मान्ने भित्रको फरक जात तारो बन्छ। हिजो मधेशमा भएको त्यही हो। पहिले पहाडी समुदाय लुटिए। कुटिए। लखेटिए। आज त्यो आगो र अराजकताले त्यहीका समुदायलाई पोलेको छ। किनकी आगोसँग कुनै संवेदना हुँदैन। भावना हुँदैन। आगोको कुनै धर्म हुँदैन। हिजो चन्दा, फिरौती, अपहरण लगायतका ज्यादती पहाडी समुदायमाथि हुन्थ्यो। आज आफ्नै समुदायमाथि हुन्छ। हिजो पहाडी समुदायमाथि ज्यादती हँुदा चुप बस्नेहरु आज स्वंय पीडित छन्। यसले देखाउँछ, आतंकको कुनै धर्म हुदैन। ढिलो चाडो सबैलाई यसले पिरोल्छ।
देशका अन्य भागका तुलनामा सुरक्षित, शान्त सुदूरपश्चिम र यहाँको तराईका दुई जिल्लामा थारु र पहाडिया समुदायबीचको सद्भावपूर्ण सम्बन्धमा आगो लगाउन भइरहेका केही तत्वको दुस्प्रयासलाई बेलैमा नचिर्ने हो भने भोलि त्यो आगोले कसैलाई छोड्ने छैन। त्यो आगोबाट कोही जोगिने छैनन्।
थरुहट थारुवान संघर्ष समितिले कैलालीलाई टुक्र्याउनु पर्ने माग गर्दै आएको छ। यसलाई थारुवानमा राख्नुपर्ने उसको माग छ। संघीयताको सीमांकनमा कैलाली र कञ्चनपुरलाई कर्णाली प्रदेशमा राखिएको छ। जुन प्रदेशमा मध्यपश्चिमको कर्णाली अञ्चलका पुरै जिल्ला, राप्ती र भेरीका केही जिल्ला राखिएका छन्। सीमांकन भएको लगत्तै सुर्खेतमा भएको आन्दोलनमा तीन जनाको मृत्यु भयो। सुर्खेत, जुम्ला, जाजरकोट लगायतका जिल्लामा अहिले पनि आन्दोलन जारी छ। यद्यपी ती जिल्लामा सञ्चालित आन्दोलनका माग आफ्नै किसिमका छन्।
सुर्खेतले प्रादेशिक राजधानीको माग गरेको छ। कर्णालीले स्वायत्त प्रदेशको माग गरेको छ। कर्णालीको आन्दोलनमा सहभागीहरुले सुदूरपश्चिमसँग कर्णालीलाई नगाभ्न माग गरेका छन्। सुर्खेतको चिन्ता प्रादेशिक राजधानी हुन नपाउने त होइन भन्ने हो। उसको विरोध प्रदेशको सीमांकनलाई लिएर होइन। यदि शुरुवातमै प्रदेशको राजधानी सुर्खेत बनाउने भन्ने छनक वा राजनैतिक दलका शीर्ष नेताबाट प्रतिबद्धता पाएको भए सुर्खेतमा आन्दोलन नै हुँदैन थियो। उनीहरुलाई डर छ, अखण्ड सुदूरपश्चिम पक्षधरहरुले कहीँ आन्दोलन गरेर ६ नम्ब र प्रदेशको राजधानी सुदूरपश्चिममा बनाउने त होइनन् भन्ने। सुर्खेतका बासिन्दाले गरेको आन्दोलन सुदूरपश्चिमसँग गाभिएकोमा विरोधमा होइन, प्रादेशिक राजधानी बनाउनका लागि दबाब दिन हो।
यद्यपी सुर्खेतलाई लिएर मध्यपश्चिमकै दैलेख, जाजरकोट, जुम्लाका असहमति गुनासा र बल्गे्रल्ती छँदैछन्। सुर्खेतलाई नै प्रादेशिक राजधानी मान्न र स्वीकार गर्न अन्य जिल्ला नै सहमत छैनन्। सुर्खेतका थुप्रै गुनासा छन्, बाँकेसँग। त्यसैले अखण्ड मध्यपश्चिमको कुरा गर्दैन, सुर्खेत।
मध्य तथा सुदूरपश्चिम लगायत देशका अन्य भागमा भइरहेका आन्दोलन सरसर्ती जे नाम र बहानामा भएपनि देशलाई केन्द्रमा राखेर कसैले आन्दोलन गरेको पाइँदैन। सबैका आ–आफ्नै स्वार्थ छन्। आ–आफ्नै चाहना र अपेक्षाहरु छन्। चाहे त्यो कुनै जातीका हुन्, चाहे कुनै जिल्लाका। कोही भूगोल टुक्रयाउँन हँुदैन भनेर विरोध गरिरहेका छन्। त कोही भूगोल नटुक्र्याएको भनेर विरोधमा उत्रिएका छन्।
भूगोल टुक्र्याएर कुनै जाती वा समुदायको विकास भएको उदाहरण कतै छैन। कुनैपनि पछाडि परेको जातीको विकास र उत्थानका लागि निश्चित समयसम्म आरक्षण दिइनुपर्छ। उनीहरुलाई अधिकार सम्पन्न बनाइनुपर्छ। र, अवसरहरु सृजना गरिनुपर्छ। राज्यको नीति निर्माण तहसम्म पुग्नको लागि।
तर अर्को जिल्लासँग जोड्न पनि नमिल्ने, अर्को जिल्लालाई मिसाउन पनि नहुने। अर्को अञ्चल र क्षेत्रलाई स्वीकार पनि नगर्ने, अनि अर्को अञ्चल र क्षेत्रसँग पनि नमिल्ने। फेरि पनि सबैलाई संघीयता चाहिने। यो पनि नहुने। त्यो पनि नमान्ने। फेरि पनि संघीयता चाहिने। यदि केही पनि नमान्ने हो भने चित्र बहादुर केसीको लाइन नै ठीक। संघीयता चाहिँदैन भन्नु पर्‍यो। संघ बलियो तब हुन्छ, जब भावनाहरु मिल्छन्। उद्देश्यहरु एक हुन्छ। लक्ष्य र गन्तव्य एउटै हुन्छ। यस्तो व्यवहार देखिदँैछ, मानौं अहिले प्रदेश जोडिएका जिल्लाहरु पहिले अर्कै देशका थिए। र अर्को प्रदेशसँग जोडिएका जिल्लाका बासिन्दाले पनि आफ्नो भूभाग नै खोसिए र अर्को देशमै विलय गरेजस्तो महशुस गरिरहेका छन्। अहिले आएको संघीयताको सीमाकंनको खाका अन्तिम होइन, अन्तिम खाका यस्तै भयो भने के होला देशको हालत।
को पहिले आयो? को पछि आयो? को कहाँबाट आयो? को कहाँबाट आयो? जो जहाँबाट आएपनि जहिले आएको भएपनि, कैलालीमा बस्ने सबै यहाँका बासिन्दा हुन्।
थारु समुदायको विकास र उत्थानको बाधक न त यहाँको भूगोल हो। न त यहाँको अन्य जाती र समुदाय। तर अरु जाती र समुदायलाई आफ्नो विकासको बाधक मान्ने र त्यही अनुरुप व्याख्या गरी सर्वसाधारणलाई भड्काउने कार्यले तत्काललाई आन्दोलन उत्कर्षमा पुर्‍याउन सहयोग पुग्ला। केही नेताले वाहवाही पाउलान्। तर त्यसले दीर्घकालीन रुपमा कसैको हीत गर्नेछैन।
थारु र पहाडी समुदाय न त प्रतिस्पर्धी हुन्। न त परस्पर बिरोधी। दुईटै समुदायका माग राज्यसंंग छन्। आफ्ना माग पुरा गर्न राज्यलाई दबाब दिनका लागि एकले अर्कालाई गाली गर्ने, निषेध गर्ने, घृणाको राजनीति गर्ने काम  गर्न हँुदैन।
अन्त्यमा, ९० को दशकमा रुवाण्डामा भएको हुतु र तुत्सुबीचको लडाईंमा झण्डै १० लाख मान्छेको ज्यान गएको थियो। इराकमा ९० को दशकमा भएको अमेरिकी आक्रमण र त्यसयता सिया र सुन्नी समुदायबीच जारी गृहयुद्धमा लाखांै मान्छेले ज्यान गुमाइसकेका छन्।
घृणाको राजनीति कति भयानक हुन्छ, ईराक र रुवाण्डा हेरे पुग्छ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण