गृहपृष्ठ » मुख्य समाचारमस्यौदा समितिले प्रतिवेदन बुझायो

मस्यौदा समितिले प्रतिवेदन बुझायो

August 22, 2015१०० पटक

काठमाडौं, भदौ ५ – संविधान मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक शुक्रबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ ।
समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा शुक्रबार बेलुका संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाउनुभएको हो ।
समितिको बैठकले दलको सहमतिका आधारमा प्रदेशको संख्या सात रहने विषयलाई मस्यौदामा समावेश गरेको थियो । मस्यौदा समिति मातहतको कार्यदलले यसअघिका सबै सहमतिका विषयलाई समावेश गरेर प्रतिवेदन तयार पारिसकेको अवस्थामा दलबीच पछिल्लो पटक भएको सहमतिलाई थप गरेर मस्यौदालाई परिस्कृत गरिएको हो ।
परिमार्जित विधेयक बुझ्दै संविधानसभा अध्यक्ष नेम्वाङले अब संविधान बन्ने ठोस र अन्तिम आधार तयार भएको बताउनुभयो । ‘अब संविधान बन्यो, त्यसको ठोस र अन्तिम आधार समितिले बुझाएको अन्तिम परिमार्जित विधेयक हो, परिमार्जित विधेयकलाई आइतबारदेखि बस्ने संविधानसभा बैठकमा प्रस्तुत गरिनेछ, आइतबार सबै सभासद् र सञ्चारकर्मीको हातमा पु¥याइनेछ’ उहाँले भन्नुभयो ।
अध्यक्ष नेम्वाङले जस्तोसुकै अप्ठ्यारा आइपरे पनि संविधानसभामार्फत नागरिकको चाहनाअनुरूप संविधान बनाउँछौ भन्ने कुरा फेरि एक पटक प्रमाणित भएको उल्लेख गर्नुभयो । उहाँले मस्यौदाका कतिपय विषयमा दलहरूले फरक मत राखेर हिँडे पनि यसले अधिकतम नागरिकको भावना समेटेको र संविधान जारी हुने अन्तिम समयसम्म बढीभन्दा बढी जनताको भावनालाई समेट्ने प्रयास गरिने हुनाले संविधान निर्माण प्रक्रियामा एक जुट हुन असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो ।
‘नेपालको संवैधानिक इतिहासमा नागरिकको सहभागिताद्वारा सबैभन्दा बढीको भावना समेटिएको संविधान बनाउने अन्तिम घडी आइपुगेको छ र संविधान जारी गरिने आधार तयार भएको छ’ उहाँले भन्नुभयो ।
मस्यौदा समितिका सभापति सिटौलाले संविधानसभाले दिएको पहिलो समयावधिमा सहमति जुट्न नसकेपछि फेरि समय थप मागी मेहनतका साथ मस्यौदालाई पूर्णता दिइएको बताउनुभयो ।
उहाँले नेपालको संविधान निर्माण गर्ने कार्य निकै लामो र जटिल प्रक्रिया भएको र सबै दल, सभासद र राजनीतिक समझदारीले यो अवस्था आएको हो भन्दै संविधानमा सबै दलको भावनालाई समेट्ने अधिकतम प्रयास गरिएकाले यसप्रति असन्तुष्ट जनाउने दललाई संविधान जारी गर्ने कार्यमा सक्रियता जनाउन आग्रह गर्नुभयो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण