पर्वतका होटेल खानबस्न अयोग्य
२०७२ भाद्र २४ बिहीवार
कुस्मा: पर्वत सदमुकाम कुस्मा बजारका अधिकांश होटेल मापदण्डविपरीत रहेको पाइएको छ।
कुस्माबजारका होटेल खानबस्न अयोग्य रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
‘कार्यालयको संयोजनमा गरिएको अनुगमनमा अधिकांश होटेल मापदण्डविपरीत र दयनीय अवस्थामा सञ्चालन भएको पाइएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन तथा निरीक्षण समितिका संयोजक चूडाराज भट्टराईले भने।
अनुगमन टोलीमा उपभोक्ता मञ्च, प्रहरी, उद्योग वाणिज्य संघ र सञ्चारकर्मी सहभागी थिए।
अधिकांश होटेल दर्ता नै नभएका, बिनादर्ता मदिरासमेत बेचविखन गर्ने गरेको, मूल्यसूची नटाँसेको, मेनु नराखेको, सरसफाइको कमी, फोहोर भान्सा भेटिएको भट्टराईले जानकारी दिए।
होटेल सञ्चालकलाई एक साताको समय दिइएको र त्यस अवधिमा पनि सुधार नदेखिएमा कारबाही प्रकृया अघि बढाउने उनले बताए।
अनुगमन गरिएका तीनदर्जन होटेलमध्ये कुनै पनि सञ्चालन योग्य नभएको उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले चाडबाड नजिकिएसँगै बजार अनुगमन थालेको छ। चाडबाडको समयमा बजारमा उपभोक्ताको चहलपहल बढी हुने र किनमेलसमेत बढी हुने भएकाले बजार अनुगमन गर्न लागिएको हो।
किराना पसल, फेन्सीलगायत सबैखाले व्यापार व्यवसायको अनुगमन गर्न लागिएको प्रशासन कार्यालयले जनाएको छ। पहिलो चरणमा होटेलमा अनुगमन गरिएको र अन्य व्यवसायमा क्रमशः अनुगमन गर्दै जाने प्रशासनले जनाएको छ।