वैद्यको प्रश्न- गोली हानेर कसरी लोकतान्त्रिक संविधान बन्छ ?
गोरखा- नेकपा-माआवादीका नेता मोहन वैद्यले अहिलेको परिवेशमा ठूला दललाई संविधान नबनाउँदा र बनाउँदा पनि सुख नरहेको बताएका छन्। देशमा आन्दोलन चलिरहेका बेला कांग्रेस, एमाले, एमाओवादीका नेताले जबरजस्ती संविधान जारी गर्न खोजे अन्य राजनीतिक दललाई मान्य नहुने उनले बताए।
१० वर्षे माओवादी युद्धमा ज्यान गुमाएकाको स्मृति सभामा सहभागी हुन गोरखा आएका उनले आज गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भने, ‘संविधान जारी गर्छु भनेर लागेका कांग्रेस, एमाले र एमाओवादी नबनाएपनि सुख छैन, जबरजस्ती बनाउन खोजे भने पनि सुख छैन।’ संविधान सभामा रहेका दलहरु नै संविधान निर्माणको प्रक्रियामा असन्तुष्टि जनाउँदै बाहिरिन थालेपछि संविधान निर्माण गर्न सहज नभएको उनले बताए।
सबै असन्तुष्टलाई मिलाउन सर्वदलीय सभाबाट संविधान निर्माण गर्नुपर्ने वैद्यले बताए। अहिले सरकारले आन्दोलन दबाउन प्रजातन्त्रको नाममा फाँसिबादको अभ्यास गरेको उनले आरोप लगाए। आन्दोलनकै बीच संविधान जारी भए संघर्षको अर्को अध्याय थाल्ने चेतावनी दिए। तराई आन्दोलनलाई इङ्गित गर्दै उनले भने, ‘लोकतान्त्रिक संविधान बनाउँछु भन्ने, कर्फ्यू लगाउने, गोली हान्ने गरेर कसरी लोकतान्त्रिक संविधान जारी हुन्छ, यो अर्को संघर्षको लागि निम्ता हो।’nagariknews