जलेश्वरको कफ्र्यू तिन घण्टाका लागि खुल्यो ।।
महोत्तरी २५ भदौ
बुधबार तनाबग्रस्त बनेको महोत्तरी सदरमुकाम जलेश्वर अहिले शान्त देखिएको छ । स्थानिय प्रशासनले अनिश्चित कालिन कफ्र्यु आदेश जारी गरेपछि जलेश्वर शान्त देखिएको हो । बुधबार राती ८ बजेदेखि जारी गरेको कफ्र्यू अहिले बिहान ६ बजेदेखि ९ बजे सम्मको लागि भने खुलाएको प्रशासनले जनाएको छ । ३ घण्टाको लागि कफ्र्यू खुलेपछि जलेश्वरका नागरिकले केही राहत महसुस गरेको छन् । बिहान ६ बजेदेखि ९ बजेसम्मको लागि कफ्र्यू खुलाईएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिनुभयो । ९ बजेपछि कफ्र्यू जारी गर्ने या नगर्ने भन्ने विषयमा सुरक्षा समितिको बैठक बसेर छलफल गरी निर्णय लिने काफ्लेले बताउनु भयो । बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन जना प्रदर्शनकारीको ज्यान गएपछि स्थानिय प्रशासनले जलेश्वरमा अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको थियो । यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले विहिबार प्रेस विज्ञप्ती प्रकाशित गरी प्रहरीको गोली लागि ज्यान गुमाउने आफ्ना कार्यकर्तालाई शहीद घोषणा गरी क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गरेको छ । त्यस्तै, एकीकृत नेकपा माओवादी महोत्तरीका सभासदहरुले पनि विज्ञप्ती निकालेर घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेका छन् ।