दलहरुले आज मधेशी दलहरुसँग छलफल गर्दै
संविधान निर्माण प्रक्रिया दुई दिनका लागि स्थगित गरेका दलहरुले आज मधेशी दलहरुसँग छलफलको प्रयास जारी राखेका छन् । मधेशमा संघर्षरत दलहरुलाई हिजो नै वार्ताका लागि आह्वान गरिएकाले आज वार्तामा आए उनीहरुका मागका विषयमा छलफल गर्ने तयारी दलहरुको छ । यद्यपि मधेशवादी दलहरुले दुई दिन प्रक्रिया स्थगित गरेर आह्वान गरिएको वार्तालाई बेवास्ता गर्दै आन्दोलनलाई निरन्तरता दिने प्रतिक्रिया दिईसकेका छन् ।
निरन्तरको आन्दोलन र चौतर्फि दबाबपछि संवादमार्फत मधेशका माग सम्बोधन गर्नभन्दै दलहरुले हिजोदेखि संविधान निर्माण प्रक्रिया स्थगन गरेका थिए । संविधानसभामा हिजो दिउँसोदेखि संशोधन प्रस्तावलाई समेटेर मतदानमार्फत धारा र उपधाराहरु पास गर्ने कार्यतालिका रहेको थियो । मधेशवादी दलहरु वार्तामा आए उनीहरुको माग बमोजिम संविधान निर्माण प्रक्रिया अझै केहि दिन लम्ब्याउन सकिने एक नेताले बताएका छन् ।
यसअघि हिजोसाँझ प्रधानमन्त्री सुशील कोइरालाले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नु भएको थियो । गच्छदारसँगको छलफल सकारात्मक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा उहाँले संविधान निर्माण प्रक्रियामा सहभागी हुन गच्छदारलाई आग्रह गर्नु भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले थारु बाहुल्य क्षेत्रलाई विशेष स्वायत्तता क्षेत्र बनाएर सहमतिमा पुग्न प्रस्ताव गर्नु भएको थियो । आज प्रमुख तीन दलका नेताहरु मधेशवादी दलहसँग छलफलको प्रयासमा रहे पनि अहिलेसम्म कुनै पनि छलफलको कार्यक्रम तय हुन नसकेको एक एमाले नेताले बताएका छन् ।