भैंसी लोप भएपछि संरक्षण अभियान
३१ भदौ, पर्वत । स्थानीय जातका भैंसी लोप हुँदै जिल्ला पशुसेवा कार्यालयले नै पर्वतमा भैंसी संरक्षण अभियान चलाएको छ । एकातिर कार्यालयको सहयोगमा संरक्षण अभियान शुरु भएको छ भने अर्कोतिर कार्यालयकै कर्मचारीको मिलेमतोमा पर्वतका गाउँ गाउँबाट मासुका लागि भैंसी बिक्री भएको खुलासा भएका छन् ।
स्थानीय जातका भैंसी लोप भएको भन्दै कार्यालयले गत वर्षदेखि संरक्षण अभियानका लागि कार्यक्रमसमेत सञ्चालन गरेका बेला मुस्ताङ, कास्की लगायतका जिल्लामा कार्यालयकै चिकित्सकको मिलेमतोमा भैंसी चोरी निकासी हुने गरेको पाइएको कारोबार दैनिकमा खबर छ ।
जिल्ला पशुसेवा कार्यालयमा कार्यरत पशु चिकित्सकबाट स्वस्थ रहेको प्रमाणपत्र लिएर गाउँ-गाउँबाट भैंसी निकासी भइरहेको भेटिएको छ । जिल्लाको फलेबासबाट बिक्रीका लागि ल्याइएका ६ वटा भैंसी दोबिल्लामा पक्राउ परेपछि कार्यालय चिकित्सककै स्वास्थ्य प्रमाणपत्र लिएर भैसी निकासी भइरहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयले दोबिल्लामा पक्रेका भैंसी जिल्ला पशुसेवा कार्यालयलाई जिम्मा लगाएको थियो । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा. विकास श्रेष्ठले पक्राउ गरिएका भैंसी कृषकलाई फिर्ता गर्ने सर्तमा ब्यापारीलाई नै बुझाइएको जानकारी दिए ।