भारतीय विदेश सचिव एस.जयशंकर काठमाडौं आउने ।।
भारतीय विदेश सचिव एस.जयशंकर नेपालको संविधान निर्माण प्रक्रियाको बारेमा छलफल गर्न आज काठमाडौं आउनुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूतका रूपमा जयशंकरलाई काठमाडौं पठाउन लाग्नु भएको हो । प्रमुख राजनीतिक दलले पर्सि नयाँ संविधान जारी गर्ने तयारी गरेपछि भारतले विशेष दूत पठाउन लागेको हो । भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा विदेश सचिव जयशंकर आज बिहान काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार भारतीय प्रधानमन्त्रीका विशेष दूतले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको छ । राजनीतिक दलका कुन–कुन नेतासँग जयशंकरले भेटघाट गर्ने भन्ने बारेमा भने कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान ९ बजे काठमाडौं आइपुगेपछि जयशंकरले १० बजे प्रधानमन्त्रीसँग भेटघाट गर्ने र त्यसपछि राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ । त्यसपछि राजनीतिक दलका नेतासँग भेटी जयशंकरले नयाँ संविधानका विषयमा जानकारी लिने जनाइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलका शीर्ष नेतासँग जयशंकरले छुट्टाछुट्टै भेट्ने स्रोतले जनाएको छ । भारतले मधेसी र थारुलाई संविधानसभामा फर्काएर मात्र संविधान जारी गर्न सुझाव दिइरहेको थियो ।