पुल नबन्दा विद्यालय छोड्दै विद्यार्थी, दुई हजार बालबालिका अति जोखिमयुक्त काममा
२ असोज, डोटी । डोटीको सात्फरी गाविस ४ की १६ वर्षकी मनकला बिनाडी विद्यालय जान बिहान सवा ९ बजे नै हिड्छिन् । बिनाडी जोराघाट माविमा कक्षा नौ की छात्र हुन् । बाटोमा टुँडागाड खोला पर्छ । एक ढुंगाबाट अर्को ढुंगामा हाम फालेर खोला तर्नुपर्छ । हाम फाल्दा सास फुल्छ । ‘पारि तरिने हो वा खोलामा खसेर पानीसँग बगिने पो हो भन्ने डर लाग्छ,’ उनी भन्छिन्-‘तर के गर्ने सँधै विद्यालय नगए पढाई बबार्द हुन्छ ।’
- फाइल तस्वीर
मनकलामात्र होइन उक्त क्षेत्रका सम्पूर्ण विद्यार्थीको बाध्यता यस्तै रहेको छ । अभिभावकले पनि ढुक्क भएर बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन् । उक्त खोलामा पुल बनाउन सके छोराछोरीलाई विद्यालय पठाउन सहज हुने उनीहरुको भनाई छ । पुल बनाउनकै लागि गाउँपरिषद तथा इलाकास्तरीय योजना तर्जुमा गोसष्टिबाट निर्णय गरी जिविस पठाइएको भए पनि कुनै सुनुवाई नभएको गाविसका प्राविधि सहायक छविलाल बिनाडीले बताएको नयाँ पत्रिकामा खबर छ ।
दुई हजार बालबालिका अति जोखिमयुक्त काममा
जाजरकोटमा दुई हजारभन्दा बढी बालबालिका अति जोखिमयुक्त काम गर्न बाध्य भएको एक अध्ययनले देखाएको छ । ती बालबालिकालाई विभिन्न अपराध र जोखिमयुक्त श्रममा लगाइएको पाइएको छ ।
बालकल्याण समितिले बालबालिकाको अवस्थाबारे तयार पारेको प्रतिवेदनअनुसार यस वर्षको भदौसम्म निकृष्ट बालश्रममा लगाइएका बालबालिकाको संख्या सबैभन्दा धेरै छ ।
गरिबी, परम्परागत मान्यता, आमाबाबुको मृत्यु र अपराधका कारण बालबालिका उच्च जोखिममा देखिएका छन् । अभिभावकका कमजोर आर्थिक अवस्था, घरेलु हिंसा र आमाबाबुको सम्बन्धविच्छेदले पनि बालबालिका जोखिमपूर्ण र असुरक्षित जीवन विताउन बाध्य भएको पाइएको छ ।