संसद्को वर्षे अधिवेशन सकियो
काठमाण्डु, २ असोज-व्यवस्थापिका–संसद्को वर्षे अधिवेशन शनिबार मध्यरातबाट अन्त्य हुने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले पठाउनु भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र आज बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख सुवास नेम्बाङले वाचन गरेर सुनाएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा यादवले संसद् अधिवेशन शनिबार मध्यरातबाट अन्त्य भएको पत्र पठाएका थिए ।
गत असार १५ गते प्रारम्भ संसद्को बैठक शनिबारसम्म जम्मा ८२ दिन चालु रह्यो । कुल ४० दिनमा ४४ पटक बैठक बसी जम्मा १४१ घण्टा २० मिनेट खास कार्यमा व्यतित गरेको थियो । अधिवेशनको क्रममा सरकारको चालु आवको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो ।
यस वर्षे अधिवेशनमा ३९ वटा सरकारी विधेयक दर्ता भएकामा चारवटा विधेयक फिर्ता लिइएको थियो भने चार विधेयक पारित भएको र चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । यस्तै सार्वजनिक महत्वको विषयमा समेत छलफल भई विशेष प्रस्ताव पारित भएको थियो ।