गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत’

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत’

September 21, 2015१९० पटक

काठमाडौं- नेपाली नागरिकले आफ्ना प्रतिनिधिमार्फत लेखेको ‘नेपालको संविधान, २०७२’ आइतबार साँझबाट लागू भएको छ। राष्ट्रपति रामवरण यादवले संविधानसभा भवनमा आयोजित विशेष समारोहमा संविधानको एक प्रति जनतालाई देखाउँदै नयाँ संविधान जारी भएको घोषणा गरेका थिए।

‘संविधानसभामा संविधानसभाबाट पारित एवं संविधानसभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपति यादवले संविधानका पाँचवटा प्रतिमा हस्ताक्षर गरेर साँझ ५ः५५ बजे समारोहमा संविधान जारी भएको घोषणा गरेका थिए। सो घोषणासँगै संविधानसभा हल लामो समय तालीले गुन्जिएको थियो।

संविधान जारी भएको हेर्न पुगेका दर्शक, समर्थक, संविधानसभा परिसरमा रहेका सर्वसाधारण सबैले एकैसाथ ताली बजाएर नेपालको संविधानको स्वागत गरे।

संविधानसभा भवनमा संवैधानिक निकायका प्रमुख, पदाधिकारी, विभिन्न मुलुकका राजदूत, नेपाल सरकारका विशिष्ट तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख, पूर्वसभासद, सर्वसाधारण उपस्थित थिए।

संविधान जारी भएको घोषणाको केही बेरपछि नै संविधानसभा भवन परिसरमा पटाका र आतिसबाजी गर्दै खुसियाली मनाइएको थियो।

संविधान जारी भएको घोषणासँगै संविधानसभा हलमा लामो समय ताली बजिरहँदा राष्ट्रपति यादवले उठेर सबैलाई नमस्कार गर्न भ्याए। शालीन ढंगले संविधानसभा प्रवेश गरेका राष्ट्रपतिले संविधानको प्रत्येक प्रतिलाई ढोग्दै हस्ताक्षर गरेका थिए।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई संविधानको प्रति थमाएका थिए भने हस्ताक्षरमा संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सघाएका थिए।

राष्ट्रपतिले घोषणा गरेलगत्तै ‘नेपालको संविधान’ प्रारम्भ भएको छ भने अन्तरिम संविधान २०६३ निष्त्रि्कय भएको छ। संविधानसभाको १३५ औं बैठकलाई औपचारिक समारोहमा परिणत गर्दै संविधानसभाले तयार पारेको संविधान जारी भएको घोषणा गरिएको थियो।

संविधान जारी गरेपछि संविधानसभा विधिवत रूपमा विघटन भएको छ भने संविधानसभा परिवर्तित संसदमा परिणत भएको छ।

संविधान जारी भएको घोषणापछि राष्ट्रपति यादवले संविधानसभा र परिवर्तित सभाले देशको एकता मजबुत बनाउँदै लैजाने विश्वास व्यक्त गरे। ‘यो संविधानसभा र परिवर्तित सभाले देशको एकता मजुबत गर्दै जानेछ,’ राष्ट्रपति यादवले भने, ‘राष्ट्रको जय होस्। सबै नेपालीको जय होस्।’

राष्ट्रपति यादवले ७ बुँदे लिखित मन्तव्य पनि संविधानसभामा राखेका थिए। ‘नेपाली जनताले झन्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मूर्त रूप लिएको छ,’ यादवले लिखित मन्तव्यका क्रममा भने, ‘यस अवसरमा लोकतान्त्रिक आन्दोलनका आदरणीय सहिद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु।’

यादवले संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने ऐतिहासिक अवसरमा सम्पूर्णलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।

‘यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ,’ उनले भने, ‘नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ। संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताको आधारसहित अन्य विषय संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्। संविधानको घोषणासँगै देश दिगो शान्ति, राजनीतिक स्थायित्व र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा तीव्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ।’

राष्ट्रपति यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको बताए।

‘नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति र पहिचानलाई समान ढंगले संरक्षण र प्रवर्द्धन गर्नेछ,’ उनले भने, ‘विविधताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गरेको छ।’

उनले प्राप्त उपलब्धिको रक्षाका लागि आग्रहसमेत गरे। ‘हिमाल–पहाड–तराई–मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई म ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आह्वान गर्छु,’ यादवले संविधानसभालाई सम्बोधन गर्दै भने, ‘संविधान गतिशील दस्तावेज हो। यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार र समृद्धि प्राप्त गर्न समेत निरन्तर क्रियाशील रहन आग्रह गर्दछु।’

उनले जनताका प्रतिनिधिद्धारा संविधानसभाबाट पारित संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने साझा संकल्पको दस्तावेज भएको बताए।

संविधानसभा अध्यक्ष नेम्वाङले पनि नेपालको राजनीतिक र संवैधानिक इतिहासमा नै ऐतिहासिक दिन भएको स्मरण गरे। ‘नेपाली जनताको साढे ६ दशक लामो सपना आज पूरा भएको छ,’ हर्षित मुद्रामा देखिएका सभाध्यक्ष नेम्वाङले भने, ‘निर्वाचित प्रतिनिधि रहेको संविधानसभाबाट संविधान निर्माण गर्ने चाहना आज पूरा भएको छ।’

‘२०६४ साल चैत २८ गते निर्वाचन भई सुरु भएको संविधानसभा उकालीओराली पार गर्दै २०७० साल मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनपछि आज सार्थक भएको छ,’ नेम्वाङले खुसी प्रकट गर्दै भने।

उनले आफूहरू स्वतन्त्र देशका नागरिक भएको समेत स्पष्ट पारेका थिए।

‘आज खुसीले ओतप्रोत भएका छौं,’ नेम्वाङले भने, ‘हामी स्वतन्त्र देशका स्वाधिन नागरिक हौं। हामीले बनाएको संविधान नै हाम्रो भावी मार्गचित्र हो।’

उनले नयाँ संविधानले सबैका माग र भावनालाई समेट्न सक्ने आधार तयार पारेको बताए। ‘संविधान जारी हुनासाथ अर्को चुनौती सुरु भएको छ,’ उनले भने, ‘त्यो हो संविधानको सफल कार्यान्वयन। नयाँ संविधानको कार्यान्वयन चुनौतीपूर्ण छ। यसका केही संकेत अहिले पनि देखिएका छन्। संविधान राम्रो भएर मात्र पुग्दैन। यसको कार्यान्वयन तहमा इमानदारिता चाहिन्छ। संविधानले बुद्धि, विवेक र क्षमता भने बाँड्न सक्दैन। तसर्थ संविधान राम्रो भएर मात्र पुग्दैन।’

नेम्वाङले संविधान कार्यान्वयन गर्ने काममा जतिसुकै प्रतिकूल आइपरे पनि कडाइका साथ सामना गर्न संविधानसभा सदस्यहरूलाई आग्रह गरे।

उनले संविधान निर्माणमा देखिएको उत्साहले संविधान निर्माण प्रक्रिया रोकिने अवस्थामै नरहेको बताए। ‘संविधान लेखन प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र सहभागितामूलक तरिकाले सम्पन्न भएको छ,’ नेम्वाङले भने, ‘संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिता छ। लोकतान्त्रिक वातावरणमा जनसहभागितामा संविधान निर्माण सम्पन्न गरिएको हो। संविधान पारित गर्ने बेलासम्म पनि कतिपय दलको फरक मत रहेको थियो।’

सभाध्यक्ष नेम्वाङले दोस्रो संविधानसभाको डेढवर्षे अवधिमा भएका महत्वपूर्ण कामको विवरण सुनाएका थिए। उनका अनुसार २०७० माघ ८ गतेदेखि ६ सय ७ दिनसम्म संविधानसभा बैठक चलेको थियो। यसबीचमा १ सय ३० दिनमा १ सय ३५ पटक बैठक बसेको थियो। संविधानसभाले ३ सय २८ घन्टा ४५ मिनेट खास कार्यमा व्यतीत गरेको थियो।

यसैबीच, संविधान जारी भएको खुसियालीमा संविधानसभा भवन परिसरसहित मुलुकका विभिन्न भागमा दीपावली गरिएको छ। संविधानसभा भवनमै राति अबेरसम्म पनि आतिसबाजी गरिएको थियो।

संविधान घोषणा समारोहका लागि संविधानसभा भवन दुई दिनदेखि दुलहीझैं सिँगारिएको थियो भने दुई हजारभन्दा बढी पाहुनाका लागि खाना व्यवस्था गरिएको थियो।

संविधानसभा भवनमा पुगेका सर्वसाधारणका लागि प्रोजेक्टरबाट पनि समारोहको प्रत्यक्ष प्रसारण गरिएको थियो।nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण