गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारभूकम्पपछि बन्द भएको उत्तरी नाका खुलाउने बारे कुटनीतिक पहल सुरु ।।

भूकम्पपछि बन्द भएको उत्तरी नाका खुलाउने बारे कुटनीतिक पहल सुरु ।।

September 25, 2015१६७ पटक

tatopani
८ असोज, काठमाडौं । सरकारले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द विशाल चीन जोड्ने उत्तरतर्फको मुख्य नाका (तातोपानी) र रसुवागढी नाका खुलाउन औपचारिक रुपमा कूटनीतिक पहल थालेको छ ।

प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी (भारतीय सीमा) नाकामा अवरोध बढ्न थालेपछि उत्तरी मुख्य नाका तातोपानी र अर्को नयाँ नाका रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाइएको हो।

दसैंतिहार लगायत चाडसमेत नजिकिएकाले दसैंअघि नै सञ्चालनमा ल्याउने गरी तातोपानी नाकालाई प्राथमिकतामा राखेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँग कूटनीतिक प्रयास गरिरहेको नागरिक दैनिकमा खबर छ।

उच्च स्रोतअनुसार यथासम्भव दुवै, नभए तत्काल तातोपानी नाका खुलाउन मन्त्रालयले औपचारिक रुपमै चिनियाँ अधिकारीसँग वार्ता र छलफल अघि बढाइसकेको छ। मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीबीच बुधबार काठमाडौंमा यसबारे द्विपक्षीय वार्ता भएको थियो। दूतावासका कन्सुलरसहितका अधिकारी छलफलका लागि मन्त्रालय पुगेका थिए।

‘चाडबाडको मौसम सुरु भयो। अझै पनि अवरुद्ध नाका बन्दै राखिरहनु हुँदैन,’ वाणिज्य सचिव नइन्द्र उपाध्यायले भने, ‘दसैंअघि नै नाका खुलाउने ध्येयसाथ पहल थालेका हौँ।’

दुवै नाका खुलाउन चिनियाँ अधिकारी सकारात्मक देखिएको पनि उनले जनाए। सम्भव भए दुवै, त्यसो हुन नसके पनि तातोपानी नाका दसैंअघि नै खुलाउन वाणिज्य अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेका थिए।

‘चाँडै नाका खुलाउने विषय हाम्रो चासोभित्रै थियो। बर्खा, बाढी, पहिरोले सकिएन। अब मौसम पनि अनुकूल बन्दैछ,’ चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सचिव उपाध्यायले भने। त्यस क्रममा नेपालको आग्रह तत्काल आफ्नो सरकारसमक्ष राख्ने कन्सुलरलगायत चिनियाँ अधिकारीले आश्वासन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण