‘भारतले नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत’
धनगढी– भारतले पेट्रोलियम पदार्थमा रोक लगाएर अघोषित रुपमा गरेको नाकाबन्दीको कानुनविद् तथा बुद्धिजिवीहरुले गलत भएको भन्दै बिरोध गरेका छन्।
उनीहरुले अहिलेको अवश्थामा भारतले नाकाबन्दी गर्नु अन्तराष्ट्रिय कानुनविपरीत भएको बताएका छन्। यसको बिरोधमा संयुक्त राष्ट्र संघमा नेपाल सरकारले कुरा राख्नुपर्ने उनीहरुको धारणा छ।
नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र साउदले अहिलेको अवश्थामा भारतले नाकावन्दी गर्नु अन्तराष्ट्रिय कानुनविपरीत भएको बताएका छन्। राष्ट्रिय सुरक्षामा खतरा, क्षेत्रीय अखण्डतालगायतको बिशेष अवस्थाबाहेक नाकावन्दी गर्न नहुने उनको भनाइ छ। ‘भारतले नाकाबन्दी गर्नुपर्ने कानुनी आधार छैन,’ उनले भने।
भारतले नाकाबन्दी लगाएमा नेपालले न्यायका लागी संयुक्त राष्ट्र संघलगायत अन्तराष्ट्रिय समुदायमा जान सक्ने उनको भनाइ छ। अन्तराष्ट्रिय समुदायले भारतलाई नाकाबन्दी हटाउन दवाव दिन सक्ने उनले बताए ।
यसैगरी सुदूरपश्चिम बिश्वबिद्यालयका रजिस्ट्रार तथा बिश्लेषक हेमराज पन्तले भारतले विवादमा सहयोग गर्नुको सट्टा तेल रोक्ने काम गलत भएको बताएका छन्। भारतले नाकाबन्दी लगाउने कुनै अधिकार भारतलाई नरहेको उनले बताए। ‘भारतको काम अवैध छ,’ उनले भने।
भारतले तेल रोक लगाएपछि धनगढीमा समस्या भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले बताए। कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईं कैलालीका नाकामा अवस्था समान्य रहेको बताउँछन् ।