गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनेपालले भारतसँग सोध्यो नाकामा गाडी रोक्नुको कारण

नेपालले भारतसँग सोध्यो नाकामा गाडी रोक्नुको कारण

September 25, 2015२८४ पटक

काठमाडौं, असोज ८ – सीमा नाकामा कडाइ गर्दै भारतले पेट्रोलियम पदार्थलगायत खाद्यान्न बोकेका गाडी प्रवेश गर्न नदिएपछि सरकारले भारतसँग यसको कारण सोधेको छ ।

कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई मन्त्रालयमा बोलाएर दुई देशको सीमामा के कारणले अवरोध भएको हो भनेर सोध्नु भएको हो ।

ठुला तीन दलको बैठकले नेपालमा आपुर्तिमा अवरोध गराउनुको कारणबारे भारतीय राजदूतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । जवाफमा रेले नेपालकै कारण नेपाल भारत सीमा नाकामा कडाई गर्नुपरेको बताउनु भएको थियो । आन्दोलनरत पक्षले सीमानाकामा विरोध प्रदर्शन थालेकाले असुरक्षा बढेकाले सिमामा कडाई गरेको रेले बताएको श्रोतको भनाई छ ।

भेटमा दुवै देशका सरकार र नागरिकबीचको विद्यमान सुमधुर सम्बन्धबारे चर्चा गर्दै मन्त्री अधिकारीले आपूर्ति चक्रमा हालैका दिनमा देखिएको अवरोध हटाउन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मालसामान ढुवानी गर्ने सवारी साधनलाई नेपाली भूमिमा सुरक्षासम्बन्धी कुनै समस्या हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको तथा नेपालमा रहेका भारतीय नागरिक र उनीहरूको सम्पत्तिको सुरक्षा गर्ने सरकारको प्रतिबद्धता मन्त्री अधिकारीले दोहोर्‍याउनुभयो ।

नेपाल सरकारले प्रस्तुत गरेका विषयलाई भारत सरकारका उच्च अधिकारीसमक्ष प्रस्तुत गर्ने जानकारी राजदूत रेले दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण