विश्वकप छनौटको तयारी गर्दै दिल्लीमा नेपाली क्रिकेट टोली
काठमाडौं, असोज १० – उन्नाईस वर्ष मुनिको विश्वकप छनोट खेलको तयारीका लागि नेपाली टोली भारतको नयाँ दिल्ली पुगेको छ । नयाँ दिल्ली पुगेको नेपाली टोलीले आइतबार पहिलो दिन दिल्लीको सेन्ट स्टेफेन मैदानमा अभ्यास गरेको छ ।
असोज २८ गतेदेखि मलेसियाको क्वालालक्पुरमा हुने प्रतियोगिताको तयारी गर्न नेपाली टोली १५ दिनका लागि नयाँ दिल्ली गएको हो । छनौट प्रतियोगितको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीसँग खेल्ने छ ।
प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीसँगै आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी छन् । यो प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेट खेल्न पाउने छ ।
तस्बिर सौजन्य: सुरज शाक्य