ट्रक जलाएको अारोपमा सहमहामन्त्री र जिल्ला अध्यक्ष जेल चलान
मकवानपुर-ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवलकिशोर सिहलाई जिल्ला प्रशासन कार्यालय बाराले आइतबार जेल चलान गरेको छ।
भदौ २९ गते विरगंज पथलैया औधोगिक कोरिडोरमा पर्ने त्रिभुवन राजपथको लिपनीमालस्थित उद्योगको गोदामबाट सामान लोडगरि निस्किएको ना ५ ख ७३५ नम्बरको ट्रकमा अागो लगाएको आरोपमा सोनल र सिंह पक्राउ परेका थिए।
प्रहरीले पक्राउ गरेका सिंह र सोनललाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएर प्रहरी हिरासतमा राखेको थियो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दाको फैसला गर्दै दुबै जनाबाट जनही करिब एकलाख ४९ हजार धरौटी माग गरेको थियो।
फैसला भए अनुसारको धरौटी रकम दिन नचाहेपछि दुबैजनालाई बारा प्रशासनले आइतबारदेखि जेल चलान गरेको हो।
नेता सोनल र सिंहले सवारी साधनमा आगजनी गरेको मूल्यांकनको आधारमा धरौटी रकम तिर्न आदेश हुदासमेत धरौटी रकम तिर्न नचाहेपछि दुबै जनालाई जेल चलान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए।
जेल चलानको मधेशी मोर्चाका नेताहरुले कडा विरोध गरेका छन्।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा मोर्चाका नेता प्रमोद गुप्ताले मधेस आन्दोलनको अवज्ञा गर्ने व्यक्ति र सवारी साधनमा विभिन्न जिल्लाहरुमा धेरै घटनाहरु घटाए पनि प्रशासनले अहिलेसम्म कसैलाई जेल चलान नगरेको कुरा बताए।
बारामा नेता सोनल र सिंहको संलग्नता नै नभएको घटनामा दोषी ठहरगर्दै जेल चलान गरेको कुराले बारा प्रशासनले राणा शासन चलाउन खोजेको आरोप समेत गुप्ताले लगाए। प्रशासनले नेतालाई जेल चलान गर्दा आन्दोलन कमजोर हुने ठाने पनि त्यसको परिणाम नराम्रो हुने उनले बताए।