तीन दलीय वार्ता टोली र तमलोपा अध्यक्ष ठाकुरबीच वार्ता सकारात्मक ।।
१४ असोज
आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने बारेमा आज भएको वार्ता सकारात्मक भए पनि भोलि फेरि बैठक बस्ने गरी सकिएको छ । तीन दलीय वार्ता टोली र मोर्चाको घटक तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायतका नेताहरुबीच तमलोपा कार्यालय काठमाडौंको बिजुलीबजारमा छलफल भएको थियो । आजको वार्तामा मधेसमा जारी आन्दोलमा भएको बल प्रयोग, आन्दोलनमा ज्यान गुमाएकालाई सहीद घोषणा र घाइतेको उपचार, अंगिकृत नागरिक दिने विषय र पक्राउ परेकालाई रिहा गर्ने बारेमा छलफल भएको थियो । आफूहरुले राखेका मागको बारेमा तीन दलीय वार्ता टोलीले आआफ्नो नेतृत्वमा जानकारी गराएपछि भोलि फेरि वार्ता बस्ने सहमति भएको तमलोपा अध्यक्ष ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो । बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले आन्दोलनरत दलसँग वार्ताका लागि थप म्यान्डेट दिएपछि वार्ता टोली सक्रिय भएको हो । बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली काङ्ग्रेसका नेता तथा वनमन्त्री महेश आचार्य, एमालेका प्रमुख सचेतक अग्नी खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तमलोपा कार्यालयमा पुग्नु भएको थियो । हिजो रौतहटमा बसेको मधेसी मोर्चाको बैठकले वार्तामा बस्न तयार रहेको जनाउ दिएपछि शीर्ष बैठकले यसअघि गठित वार्ता टोलीलाई विशेष म्यान्डेट दिइ आजै वार्तामा बस्ने निर्णय बिहान गरेको थियो ।